फिल्म । तिहारको भाइटीकाको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ ले देशभरका हलहरूमा उत्साहजनक अकुपेन्सी (दर्शक उपस्थिति) हासिल गरेको छ । दयाहाङ राई र विजय बराल स्टारर यो फिल्मले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको निर्माण पक्षले जनाएको छ फिल्म । निर्माताका अनुसार फिल्मले रिलिजको पहिलो दिन ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गरेको छ भने राजधानीदेखि बाहिरी सहरका हलहरूमा समेत दर्शकको भीड देखिएको छ ।
फिल्मको विहिबार, शुक्रबार अकुपेन्सी राम्रो रहेपछि केही हलहरूले शो (प्रदर्शनको समय) समेत थप गरेका छन् । निर्माता आशिष एच तामाङका अनुसार ‘वरिष्ठ बलराम’ का अधिकांश शो हाउसफूल (पूरै भरिएका) रहेका छन् ।
दयाहाङ र विजयको स्क्रिन केमिस्ट्री, संवाद र कथा प्रस्तुतिलाई दर्शकले मन पराइरहेका छन् । तेस्रो दिन शनिवार पनि बिहानैदेखि टिकट काउन्टरमा दर्शकको चहलपहल देखिएको छ । फिल्म हेरेर निस्किएका धेरै दर्शकले ‘वरिष्ठ बलराम’ ले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिएको प्रतिक्रिया दिएका छन् ।
सकारात्मक रिभ्युसँगै निर्माण पक्ष फिल्मको व्यापारप्रति आशावादी देखिएको छ । ‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ।
फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन्। निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी. घिमिरे छन्। लाइन प्रोड्युसर राम विष्ट हुन् ।
मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामोको नृत्य निर्देशन रहेको फिल्मलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।










