आक्रामक प्रचारप्रसारमा ‘मन बिनाको धन’

फिल्म । आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन बिनाको धन’ ले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ । निर्माण टिमले आफ्नो फिल्मको प्रचारलाई व्यापक बनाउन थालेको हो । राजधानी काठमाडौँसहित देशका प्रमुख सहरहरू पोखरा, चितवन, नेपालगन्ज, इटहरी लगायत पूर्वमा ई–रिक्साका साथै अटोमा ‘मन बिनाको धन’ मय भएको छ । जताततै अटोहरूमा ‘मन बिनाको धन’ का फ्लेक्सहरू झुण्ड्याइएका छन् । यस्तै, देशका मुख्य-मुख्य सहरहरूमा फिल्मका ठूला–ठूला होडिङ बोर्ड लगाएर पनि प्रचारप्रसार गरिएको छ ।

फिल्मका निर्माता तथा निर्देशक टंक बुढाथोकीले ‘मन बिनाको धन’ एउटा फिल्म मात्रै नभएर अभियान भएको बताउँदै देशैभरि व्यापक प्रचारप्रसार सुरु गरेको जानकारी दिएका छन् । उनले तिहार लगत्तै फिल्मको ट्रेलर र गीतहरू सार्वजनिक गर्ने पनि बताएका छन् । निर्देशक बुढाथोकीले बाटोमा गीत गाउँदै माग्दै हिँड्ने गरेका अशोक दर्जीलाई आफूसँग राखेर ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन् । अशोक हाल काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन् । अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस फिल्मलाई सामाजिक विषयवस्तुमा आधारित रहेर प्रस्तुत गरिएको छ ।

टंक बुढाथोकीकै निर्माण तथा निर्देशन रहेको यस फिल्मको कथा पनि उनले नै लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । यस फिल्ममा मिनु शर्मा (सपना) कार्यकारी निर्माता रहेकी छिन् । यस्तै, जी.पी संग्रोला, विवेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । यस फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्