दयालाई पछ्याईरहेका छन् विजय ?

फिल्म । अभिनेता दयाहाङ राई र विजय बरालले ‘कबड्डी’ सिरिजसँगै धेरै फिल्ममा काम गरिसकेका छन् । दयाबाट नै अभिनय सम्बन्धी शिक्षा समेत लिएका विजयले दयालाई पछ्याउदै थियटर हुँदै फिल्ममा आएको देखिन्छ । तर, दया यसलाई पछ्याउने भन्दा पनि समयक्रमको शिलशिला भन्न रुचाउछन् ।

‘म विजय भन्दा केही जेठो छु, त्यसकारण उसले मेरो मार्गमा हिड्यो की भन्ने लाग्न सक्ला । तर, हामीले आ-आफ्नो कर्म गरेका हौँ, म पनि आफ्नो समयमा आएको हुँ, विजय पनि आफ्नो समयमा आइरहेका छन् । उनलाई हाम्रो सफलताले हौसला दियो होला तर समयक्रमसँगै हामी थियटर हुँदै फिल्ममा आयौँ’, अभिनेता राईले भने ।

उनले विजयको मेहनतले नै फिल्ममा सफल बनाएको समेत बताए । अभिनेता बरालले पनि आफूहरूका लागि अभिनेता राईको पुस्ताको फिल्म सफलताले ठूलो अर्थ राखेको बताए ।

‘दया दाईसँगै सौगात दाई (सौगात मल्ल), विपिन दाई (विपिन कार्की) लगायत फिल्ममा सफल भएपछि हामीलाई पनि हौसला मिलेको हो । जहाँ अभिनय पनि गर सकिन्छ र हाम्रो किसिमका फिल्म दर्शकको प्रिय बनाउन सकिन्छ । हाम्रो लागि बाटो बनाएर गन्तव्य देखाउने पुस्ता दया दाई कै हुन्’, अभिनेता बरालले भने ।

यी दुईको आगामी फिल्म ‘वरिष्ठ बलराम’ लाई स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथावस्तुमा आधारित रहेको छ । यो फिल्ममा दयाहाङले स्थापित पात्रको भूमिका निभाएका छन् भने विजय बरालले उनलाई टक्कर दिँदै वरिष्ठ बन्न खोज्ने उदाउँदो पात्रको चरित्रमा अभिनय गरेका छन् ।

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ । निर्देशक पौडेलको कथा र सम्पादनमा बनेको यो फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्मसको सहकार्यमा निर्मित यो फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् । मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको यो फिल्म काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्