फिल्म । निर्माता किरण नेपालीले निर्देशकको रूपमा डेब्यु गर्दै नेपाली फिल्म ‘महादशा’ निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार राजधानीको जमलस्थित विश्वज्योती मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा गर्दै प्रि–टिजर सार्वजनिक गरिएको छ । लेकाली इन्टरटेन्मेन्टद्वारा निर्मित यो फिल्मको प्रि–टिजर बुढासुब्बाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
यसअघि दर्जनौँ फिल्ममा निर्माताको भूमिका निर्वाह गरिसकेका नेपालीले पहिलो पटक निर्देशनमा हात हालेका हुन् । ‘महादशा’को प्रि–टिजरमा मुख्य कलाकारहरू प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ । निर्माण पक्षले अन्य कलाकारहरूको विवरण पछि सार्वजनिक गर्ने जनाएको छ ।
मनिष गौतमको लेखन रहेको यो फिल्ममा राजे के. शाह, श्याम मगर र अमला देवी राईको लगानी छ । सुरज आचार्य कार्यकारी निर्माता रहेका छन् । फिल्मले संस्कार, संस्कृति, अध्यात्म, समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षको भनाइ छ । प्रोडक्सन म्यानेजरको जिम्मेवारी अनिश अधिकारी र समर चौलागाईले सम्हालेका छन्। फिल्मको प्रदर्शन मिति भने छायांकन सम्पन्न भएपछि मात्र घोषणा गरिनेछ ।








