बुसान र सन सेबास्टियनमा ‘सेप अफ मोमो’

फिल्म । गौमाया गुरुङ अभिनित नेपाली फिल्म ‘सेप अफ मोमो’ ले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा लगातार सफलता हासिल गरिरहेको छ । सिक्किमेली निर्देशक त्रिवेणी राईद्वारा निर्देशित यो फिल्मले जेठमा कान्स फिल्म फेस्टिभलको कान्स मार्केटमा ‘हफ गोज टु कान्स’ अवार्ड जितेको थियो । हालै प्राप्त जानकारीअनुसार, यो फिल्म प्रतिष्ठित बुसान फिल्म फेस्टिभलको ‘भिजन एसिया’ विधामा छनोट भएको छ ।

साथै, स्पेनको सन सेबास्टियन फिल्म फेस्टिभलमा पनि सेप्टेम्बरमा यो फिल्मको स्क्रिनिङ हुँदैछ । बुसानमा छनोट हुनु निर्देशक राई र उनको टिमका लागि ठूलो उपलब्धि मानिएको छ । फिल्ममा गौमाया गुरुङसँगै पशुपति राई, श्यामाश्री शेर्पा र राहुल मुखियाको अभिनय छ । कथावस्तुमा परिवारका पुरुष सदस्यहरूको मृत्युबाट पीडित एक महिला पात्रले जागिर छोडेर परिवारमा फर्कने र बाँकी उदासीन महिलाहरूलाई स्वतन्त्रता र आत्मनिर्भरतातर्फ सशक्त बनाउने संकल्प गरेको विषय समेटिएको छ ।

यसवर्षको बुसान फिल्म फेस्टिभल सेप्टेम्बर १७ देखि २६ सम्म दक्षिण कोरियामा आयोजना हुँदैछ, जहाँ ७० देशका २ सय ४० फिल्म प्रदर्शन हुनेछन् । ‘भिजन एसिया’ र ‘भिजन कोरिया’ खण्ड यसवर्षदेखि सुरु गरिएको हो, जसमा ‘भिजन एसिया’ विधामा ११ फिल्म स्क्रिनिङ हुनेछन् ।

कमेन्ट गर्नुहोस्