यसकारण रेखाले म्युजिक भिडिओमा काम गरिन्

सङ्गीत । अभिनेत्री रेखा थापा फिल्मबाहेक अन्य मञ्चमा विरलै देखिन्छिन् । झन्डै २५ वर्षको करियरमा उनले केवल एउटा म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहुँ’मा देखिए यता, आकर्षक पारिश्रमिकको प्रस्ताव आए पनि उनले म्यूजिक भिडियोमा काम गरिनन् । तर, अब रेखा दोस्रो म्यूजिक भिडियोमा देखिन लागेकी छिन् । साउन १६ मा रिलिज हुने ‘नाइँ भनेसी नाइँ’ बोलको गीतमा उनले अभिनय गरेकी हुन्, जुन प्रकाश सपुतको कम्पोजिसन र निर्देशनमा तयार भएको छ ।

रेखाका अनुसार, यो गीतको विषयवस्तुले उनलाई आकर्षित गर्यो । ‘गीतले बालिका, युवती, महिला र आमाहरूको आत्मसम्मानको कुरा उठाउँछ । म सधैं छोरीहरूको पक्षमा उभिँदै आएकी छु । नारी र छोरीकी आमाको रूपमा यो विषयलाई मैले ‘हुन्छ’ भन्नुपर्छ भन्ने लाग्यो’, उनले भनिन् ।

प्रकाश सपुतले यो गीत तीजलाई लक्षित गरी बनाएको बताए । ‘रेखा दिदीलाई यो विषयले छुन्छ भन्ने विश्वास थियो । मैले कन्सेप्ट सुनाउँदा उहाँले ‘यसमा फिल्म बनाउन सकिंदैन?’ भनेर सोध्नुभयो । तर, भिडियोमार्फत कुरा धेरै ठाउँमा पुग्छ भन्ने लाग्यो’, प्रकाशले भने । उनले यो ‘नो मिन्स नो’ सन्देश बोकेको गीतका लागि ५/७ मेलडी तयार पारेका थिए । गीतमा एलिना चौहान र समीक्षा अधिकारीको स्वर छ । प्रकाश दर्शकले यो गीत मन पराउनेमा ढुक्क छन् ।

गीतका चार लाइन यस्ता छन्:

म त सुन्दरी परी जस्ती हुँ, म त स्वतन्त्र चरी जस्ती हुँ, चरीलाई जेलैमा थुन्न नखोज, खेलौना ठानेर चुम्न नखोज ।

कमेन्ट गर्नुहोस्