फिल्म । सिनेमाटोग्राफर, निर्माता तथा निर्देशक पुरुषोत्तम प्रधानले चलचित्र विकास बोर्डलाई आफ्ना ६० भन्दा बढी फिल्मका पटकथा (स्क्रिप्ट) औपचारिक रूपमा हस्तान्तरण गरेका छन् । यो कदमलाई नेपाली फिल्मको इतिहास संरक्षणको लागि महत्त्वपूर्ण योगदान मानिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले प्रधानको यो कार्यलाई ‘नेपाली फिल्मको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार’ भन्दै प्रशंसा गरे।
‘पटकथा फिल्मको आत्मा हो । यी स्क्रिप्टहरूको संरक्षणले भविष्यका फिल्मकर्मीहरूलाई प्रेरणा र शोधको स्रोत प्रदान गर्नेछ’, उनले भने । हस्तान्तरित प्रमुख फिल्महरूमा छक्का पञ्जा शृङ्खला (छक्का पञ्जा, छक्का पञ्जा ३), कबड्डी शृङ्खला (कबड्डी, कबड्डी २, कबड्डी ३), लुट शृङ्खला (लुट, लुट २), नाई नभन्नु ल शृङ्खला (नाई नभन्नु ल २, नाई नभन्नु ल ४, नाई नभन्नु ल ५), लप्पन छप्पन शृङ्खला (लप्पन छप्पन, लप्पन छप्पन २) समावेश छन् ।
यसबाहेक दासढुङ्गा, झोले, ड्रिम्स, राजा रानी, जय भोले, मायाज् वार, कृ, फिटकिरी, उमा, प्रेमगीत २, तान्द्रो, होमवर्क, थ्रि लभर, कमला, सिग्नेचर, जय होस्, ऐँचो-पैँचो, छ एकान छ, द विनर, मेरी मञ्जु, महाजात्रा, लक्का जवान, मेरो एउटा साथी छ, आई एम सरी, रातो टिका निधारमा, चपली हाइट ३, इकु, कान्छी, कार्साङ जस्ता चर्चित फिल्मका स्क्रिप्ट पनि हस्तान्तरित छन् ।
बोर्डले सबै फिल्मकर्मीहरूलाई आफ्ना मौलिक स्क्रिप्ट, दस्तावेज र कलाकृतिहरू संरक्षणका लागि हस्तान्तरण गर्न आह्वान गरेको छ । सिनेम्याटोग्राफर प्रधान विगत ३० वर्षदेखि नेपाली फिल्म उद्योगमा सक्रिय छन् । नेपालको पहिलो पूर्ण थ्रीडी फिल्म ‘भिजिलान्ते’ लगायतका चर्चित फिल्मका सिनेमाटोग्राफर उनी हाल निर्माता, निर्देशक र प्राविधिक विशेषज्ञका रूपमा पनि कार्यरत छन् ।










