देश । काठमाडौँका मनोरञ्जन व्यवसायीहरू आफ्नो हक, हित र सुरक्षाका लागि संगठित भएका छन् । हालै जडीबुटीमा सम्पन्न उनीहरूको राष्ट्रिय भेलाले गायिका तथा व्यवसायी उमा श्रेष्ठको अध्यक्षतामा एक कार्यसमिति गठन गरेको छ । यस भेलाले काठमाडौँलाई २४ सै घण्टा सञ्चालनको अनुमति दिनुपर्ने प्रमुख माग राखेको छ ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा दिनेश थापा, उपाध्यक्षहरूमा सुशील बुढाथोकी, सुजन श्रेष्ठ, प्रह्लाद चौलागाईं र राजकुमार कार्की रहेका छन् । त्यसैगरी, महासचिवमा सगुन अधिकारी, उपमहासचिवमा प्रज्जवल खड्का, सचिवमा अमृत खाती, सहसचिवमा देव लामा, कोषाध्यक्षमा सन्तोष लामा र सहकोषाध्यक्षमा युनिसा रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यसमितिका सदस्यहरूमा कुमार अधिकारी, होमबहादुर कार्की, रोशन बुढाथोकी, शुबास अधिकारी, विजय लामा, पार्वती थापा, रामकुमार बुढाथोकी, राज सुबेदी, गीता फुयाल कार्की र पासाङ लामा रहेका छन् ।
रक्षा मन्त्री मानबिर राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले रात्रिकालीन मनोरञ्जन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्य राखेको छ । अध्यक्ष श्रेष्ठले व्यवसायलाई व्यवस्थित गर्न आफूहरू संगठित भएको बताइन् ।
‘मनोरञ्जनात्मक क्षेत्र समाज परिवर्तनको सशक्त औजार हो, रोजगारीको ठूलो उद्योग हो, पर्यटन विकासको मेरुदण्ड हो, अर्थतन्त्रको प्रमुख स्रोतको साथै मध्यम र न्यून वर्गको जीवन धान्ने गोरेटो हो’, उनले भनिन्, ‘समग्रमा मुलुकको समृद्धिको आधार हो। त्यसैले ठमेल र दरबारमार्गमात्रै होइन, पुरै काठमाडौँलाई २४ घण्टा सञ्चालनको अनुमति दिनुपर्छ। राज्यले यो क्षेत्रलाई सम्मानित र मर्यादित उद्योगको रूपमा मान्यता दिनुपर्छ ।’
कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी टेक बहादुर तामाङ पनि उपस्थित थिए । व्यवसायीहरूले प्रहरीले बेलाबेलामा रात्रिकालीन व्यवसायलाई दुःख दिने गरेको गुनासो गर्दै यसलाई व्यवस्थित गरिदिन आग्रह गरे । रक्षा मन्त्री राईले आफू कला र कलाकर्मीलाई असाध्यै प्रेम गर्ने बताउँदै मनोरञ्जन व्यवसायले कलाकार उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखे। उनले नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताउँदै अब मनोरञ्जन व्यवसायीलाई चिन्ता नलिन आग्रह गरे ।
नवनिर्वाचित महासचिव सगुन अधिकारीले प्रतिष्ठानलाई देशव्यापी रूपमा विस्तार गर्दै लैजाने योजना रहेको बताए । त्यसैगरी, उपाध्यक्ष सुजन श्रेष्ठले कलाकारहरूको तलब र सुरक्षाको समस्या समाधान गर्न कलाकारहरूको छुट्टै उपसमिति गठन गर्ने तयारी रहेको जानकारी दिए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री युवराज दुलाल लगायत व्यवसायीहरूले आफ्नो मन्तव्य राखेका थिए । व्यवसायीहरूले कार्यक्रममा आफ्ना विभिन्न समस्याहरू प्रस्तुत गरेका थिए ।











