फिल्म । ‘माग्ने बुढा’को नामले चर्चित अभिनेता केदार घिमिरेले फिल्म ‘माग्ने राजा’का लागि ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने हल्लाको खण्डन गरेका छन् । आइतबार राजधानीमा आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को पत्रकार सम्मेलनमा बोल्दै उनले यो कुरा फिल्मको प्रचारका लागि निर्माताको निर्देशनमा बोलेको बताए ।
‘मैले ६१ लाख लिएको होइन । कति लिएँ भन्ने कुरा सार्वजनिक गर्दिनँ, तर त्यति रकम लिएको होइन । निर्माता मुनाल घिमिरेले हाइपका लागि बोल्न भनेपछि मैले बोलेको हुँ’, केदारले भने ।
उनले निर्माताले फिल्मको प्रचारका लागि ‘हल्ला गर्नुपर्छ’ भन्दै रकम बढाएर बताएको खुलासा गरे । गत असार पहिलो साता ‘माग्ने राजा’को पत्रकार सम्मेलनमा निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ दिएको दाबी गरेका थिए । यसपछि केही मिडियाले उनलाई ‘महँगा कलाकार’को उपमा दिँदै प्रचार गरेका थिए । तर, महिना नबित्दै निर्माता घिमिरेले आफ्नै दाबीको खण्डन गरेका छन् ।
‘फिल्म चलाउन केही न केही फण्डा चाहिन्छ’, घिमिरेले भने । उनको ‘माइतीघर’ दसैँमा, ‘जेरी अनटप’ तिहारमा र ‘जहाजैमा’ फागुनमा प्रदर्शन हुने तय भएको छ ।