सङ्गीत । ‘दोस्रो ग्लोबल एक्सिलेन्सी अनर, आर्ट म्युजिक एन्ड बिजनेस कन्फ्रेन्स २०२५’ हिजो थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न भएको छ । नेपाली कलाकार, ब्युटिसियन तथा पत्रकारहरू र थाइल्यान्डका कलाकार एवम् संस्कृतिविद्बिच भएको यस कन्फरेन्समा थाइल्यान्डमा नेपाली गीत-संगीत, भाषा-संस्कृतिको संरक्षणसँगै त्यहाँ रहेका नेपालीभाषी र नेपालका नेपालीबिचको सम्बन्ध जोड्ने विषयमा छलफल भयो ।
कार्यक्रममा कन्फरेन्सकी संयोजक, गायिका तथा सञ्चारकर्मी सरिता भारतीले सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिन् । प्रवासमा रहेका नेपालीहरूलाई जोड्न आफूहरूले यसअघि मलेसियामा र यसपटक थाइल्यान्डमा कन्फरेन्स आयोजना गरेको उनले बताइन् ।
विलक्षण क्रियसन प्रा. लि.ले आयोजना गरेको यस कन्फरेन्समा एनआरएन थाइल्यान्ड र थाई नेपाली संघकी संस्थापक, संरक्षक, वरिष्ठ प्राध्यापक तथा संस्कृतिविद् भारती लिम्बुनीले म्यान्मार र थाइल्यान्डमा रहेका नेपालीभाषीहरूको अवस्था र उनीहरूको आफ्नो भाषा-संस्कृतिप्रतिको लगावबारे धारणा राखिन् । प्रवासमा रहेका आफूहरूजस्ता नेपालीभाषीलाई खोज्दै आयोजना गरिएको यो कन्फरेन्सले नेपाली र प्रवासीलाई जोड्ने काम गरेको भन्दै उनले कार्यक्रमको प्रशंसा गरिन् ।
चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष विजय आवाज सुवेदीले चलचित्र पत्रकारहरूले नेपाली कला-संस्कृतिको प्रवर्द्धनमा पुर्याएको योगदानको चर्चा गरे । संघ नेपालका सचिव नविन गिरीले पनि प्रवासी नेपालीहरूको विभिन्न समस्यामा आफूले मिडियाबाट साथ दिने प्रतिबद्धता जनाए । थाइल्यान्डमा रहेका कलाकारहरूसँग आफूले गीत-संगीत एवम् म्युजिक भिडियोमा सहकार्य गर्ने चाहना व्यक्त गरे।
मेरो युनिभर्स डान्सकी विजेता तथा मोडल खुसी कार्कीले थाइल्यान्डमा रहेका नेपालीभाषी कलाकारहरूको अवस्थाबारे यस कन्फरेन्समा जानकारी गराइन् । नेपालमा आएर विभिन्न म्युजिक भिडियोमा मोडलिङदेखि मादी हिमाल यात्राको अनुभव पनि उनले सुनाइन् । यस्तै, एभरेस्ट किचन थाइल्यान्डका म्यानेजर श्याम राईले त्यहाँ आफूहरूले नेपाली मौलिक खानालाई नेपालीसँगै अन्य देशका नागरिकबिच पनि पस्किँदै आएको अनुभव सुनाए ।
समारोहमा सबैलाई धन्यवाद ज्ञापन गर्दै पत्रकार तथा गीतकार डब्बु क्षत्रीले म्यान्मारमा रहेका नेपालीभाषी युवा-युवतीहरू देश छाडेर आप्रवासमा जबर्जस्ती निक्लनुपरेको समस्याबारे आफू गम्भीर भएको बताए । एनआरएन तथा थाई नेपाली संघका पदाधिकारीहरूले थाइल्यान्डमा नेपाली भाषा-संस्कृतिको प्रवर्द्धनमा पुर्याएको योगदानको क्षत्रीले प्रशंसा गरे ।
यस कन्फरेन्समा विभिन्न कलाकार, पत्रकार, ब्युटिसियन एवम् संस्कृतिविद्लाई ‘ग्लोबल एक्सिलेन्सी अनर–२०२५’ बाट सम्मानित गरियो । यो सम्मान थाइल्यान्डबाट प्रा. भारती लिम्बुनी र थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्कीलाई प्रदान गरिएको थियो ।
यस्तै, आ-आफ्नो क्षेत्रमा योगदान पुर्याएबापत नेपालबाट यो सम्मान अभिनेता श्रीदेव भट्टराई, पत्रकार विजय आवाज सुवेदी, पत्रकार नविन गिरी र गायक हेमन्त शिशिरलाई प्रदान गरियो । यसै गरी ब्युटिसियनहरू चेली मेकअप स्टुडियोकी अध्यक्ष विना राना मगर, सोही स्टुडियोकी ब्युटिसियन अमला शाही (अमिसा), एन्जल ब्युटी पार्लर बरहथवाकी सञ्चालक राजेश्वरी शिल्पकार, सुजिता ब्युटीपार्लर धादिङकी सञ्चालक एवम् ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ की फस्ट रनर-अप सुजिता अधिकारी र स्पार्क ब्युटी पार्लरकी अध्यक्ष निरन तामाङलाई पनि सम्मानित गरियो ।