सङ्गीत । रेडियो कान्तिपुरले आगामी असार २८ गते आम दर्शकलाई समेट्दै प्रतिष्ठित ‘नेशनल म्युजिक अवार्ड २०८१’ को आयोजना गर्ने भएको छ । यो अवार्ड समारोहमा १४ विधामा पुरस्कार वितरण गरिनुका साथै लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड समारोहसँगै भव्य सांगीतिक कन्सर्ट पनि आयोजना हुनेछ ।
३ हजार दर्शक क्षमता रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा आयोजना हुने यस कन्सर्टमा कुमा सागर र दुर्गेश थापासहित १० जना चर्चित युवा कलाकारहरूको प्रस्तुति रहनेछ । कुमा सागर, दुर्गेश थापा, सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङदेन शेर्पा, एलिना चौहान, र पशुपति शर्माले सांगीतिक प्रस्तुति दिनेछन् भने सुन्दर खनाल र सुजिता श्रेष्ठले हास्य प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
कान्तिपुर टेलिभिजनका सिओओ सुरजसिंह ठकुरीले ‘नेशनल म्युजिक अवार्ड’ ले यसपटक आफ्नो स्तरवृद्धि गर्दै कन्सर्टसँगै अवार्ड वितरण गर्न लागेको जानकारी गराए । रेडियो कान्तिपुरका स्टेशन म्यानेजर पवन आचार्यले यसअघि रेडियो कान्तिपुरमा बजेका गीतलाई मात्रै अवार्ड दिइन्थ्यो भने केही वर्षयताबाट कान्तिपुर बाहेकका क्षेत्रमा बजेका गीतलाई पनि अवार्डमा समावेश गराउँदै आएको बताए ।