देशभक्ति भावले ओतप्रोत ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत

फिल्म । यहि असार २७ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । देशभक्ति भावना समेटिएको यो फिल्मको शीर्ष गीतको भिडियोमा मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, र मित्र प्रधानले अभिनय गरेका छन् ।

जरसिंह पौवास्थित साँगा चोकमा खिचिएको यस गीतमा विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको स्वर रहेको छ । गीतले फिल्मको कथावस्तुलाई सशक्त रूपमा प्रस्तुत गर्दछ । कविराज गहतराजको नृत्य निर्देशन रहेको यो गीतको भिडियोमा करिब २०० वटा राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ, जसले देशभक्तिको भावनालाई अझ उजागर गरेको छ ।

पद्मा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यो फिल्मलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । फिल्ममा माथि उल्लिखित कलाकारका साथै नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, बिजय सुब्बा, बिजिता परियार, देवराज राजबन्शी, भानुभक्त सिटौला लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

मित्र प्रधान (नर) को निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको लेखन छ । सौरभ लामाले छायांकन गरेका छन् भने देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन र सत्यम रानाको सिजीआई रहेको छ ।

फिल्ममा दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ भने दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द र खैजडी गीतमा अनिश अधिकारी को शब्द संकलन रहेको छ । फिल्मलाई आर आर फिल्मसले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्