फिल्म । कमेडी फिल्म ‘हाउसफुल ५’ को ट्रेलर रिलिज गरिएको छ । अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, ज्याकी श्राफ, नाना पाटेकर, ज्याकलिन फर्नान्डेजलगायत १९ स्टारले भरिएको यो फिल्म जुन ६ मा हलमा आउने भएको छ । ३ मिनेट ५३ सेकेन्डको ट्रेलरले कमेडी, सस्पेन्स र ग्ल्यामरको मिश्रण पस्किएको छ ।
६९ अर्ब पाउण्डका मालिक रञ्जीत दोबरियाको परिचयबाट ट्रेलर सुरु हुन्छ, जसले आफ्नो १००औं जन्मदिन समुद्रमा तैरिरहेको भव्य क्रूजमा मनाउँदै छन् । रञ्जीतले आफ्नो सम्पत्तिको उत्तराधिकारी आफ्नो सन्तान ‘जोली’ भएको घोषणा गर्छन् । तर, रमाइलो ट्विस्ट तब आउँछ जब रितेश देशमुख, अभिषेक बच्चन र अक्षय कुमार तीनैजना ‘जोली’ को रूपमा प्रस्तुत हुन्छन् । अब उत्तराधिकारी को बन्छ भन्ने कुराले दर्शकलाई हँसाउँदै सस्पेन्समा राख्ने देखिन्छ ।
‘हाउसफुल ५’ लाई बलिउडको अहिलेसम्मकै सबैभन्दा ग्ल्यामरस कमेडी फिल्म भनिएको छ । अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, ज्याकलिन फर्नान्डेज, सोनम बाजवा, नरगिस फाखरी, सञ्जय दत्त, ज्याकी श्राफ, नाना पाटेकर, चित्रांगदा सिंह, फरदीन खान, चंकी पाण्डे, जोनी लिभर, श्रेयस तलपडे, डिनो मोरिया, रञ्जित, सौन्दर्या शर्मा, निकितिन धीर र आकाशदीप साबिर जस्ता कलाकारहरूले फिल्मलाई भव्य बनाएका छन् ।
निर्देशक तरुण मनसुखानीले यो कमेडी-थ्रिलरलाई ३ सय ७५ करोड भारुको भव्य बजेटमा निर्माण गरेका छन् । फिल्ममा दुई फरक क्लाइमेक्स र हलअनुसार फरक अन्त्य हुने विशेषता छ, जसले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ । सामाजिक सञ्जालमा ट्रेलरको तारिफ भइरहेको छ र फ्यानहरूले ‘हाउसफुल’ फ्रान्चाइजीको हाँस्य र कन्फ्युजनको पुरानो जादु फर्किएको बताएका छन् । निर्माता साजिद नाडियाडवालाको यो मेगा प्रोजेक्टले बक्सअफिसमा ठूलो धमाका मच्चाउने अनुमान छ ।











