कुन वर्गले रुचाए ‘ऊनको स्वीटर’ ?

फिल्म । नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले उत्साहजनक व्यापार गरिरहेको छ । नेपालसँगै विदेशमा समेत यस फिल्मलाई हेर्ने दर्शकको भिडभाडलाई प्रदर्शकले महसुस गरेका छन् । फिल्म युनिट पछिल्लो केही दिनदेखि मोफसल भ्रमणमा रहेको छ । अभिनेताहरू विपिन कार्की र एलेक्स पारस, अभिनेत्री परीक्षा लिम्बु, गायक सुजन चापागाईँ र कार्यकारी निर्माता तथा कलाकार मिलन खत्रीले मोफसलमा पुगेर दर्शकसँग साक्षत्कार गरिरहेका छन् ।

उक्त टोलीले हालै दमौली, पोखरा, बुटवल र चितवनका विभिन्न हलहरूमा पुगी ‘ऊनको स्वीटर’ हेर्न आएका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरेको छ ।दर्शकहरू आफ्ना प्रिय कलाकारहरूलाई प्रत्यक्ष भेट्न पाउँदा निकै उत्साहित देखिएका थिए भने कलाकारहरू पनि दर्शकको माया र उत्साह देखेर दङ्ग थिए ।

हल-हलको यो भ्रमण चलिरहँदा युनिटले अप्रत्याशित रूपमा दर्शकहरूको ठुलो चाप अनुभव गरिरहेको छ । विशेष गरी किशोर उमेर समूहका दर्शकहरूले फिल्मलाई कसरी लिन्छन् भन्ने विषयमा दोधारमा रहेको निर्माण टोली स्वयम यो माया देखेर आश्चर्यचकित भएको छ ।

‘ऊनको स्वीटर’ ले पुस्तान्तरको भावनालाई जोड्न सफल भएको छ र दर्शकहरूको यो अभूतपूर्व मायाले फिल्म युनिटलाई थप उत्साहित बनाएको छ । निर्देशक नवीन चौहानले ‘ऊनको स्वीटर’ पुरानो पुस्ताको कथामा आधारित भएकाले अहिलेको पुस्ताले यसलाई कस्तो प्रतिक्रिया दिने भन्ने बारे प्रारम्भमा आफूमा ठुलो डर र शङ्का रहेको तर अहिले आफ्नो भ्रम हट्दै गएको बताए ।

कलाकारहरूको नेपाल भ्रमण अझै जारी रहनेछ र उनीहरू देशका अन्य भागहरूमा पनि दर्शकहरूसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ । फिल्मले पहिलो हप्ता नै ५ करोड ७५ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले दावी गरेको छ ।

कमेन्ट गर्नुहोस्