फिल्म । निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आ बाट आमा’को निर्माण घोषणा गरेका छन् । उनले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन् । साथै उनले प्रदर्शन मिति फागुन १५ गतेलाई समेत तोकेका छन् । सार्वजनिक गरिएको थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको छ । रोइरहेकी आमालाई बच्चाले आँसु रोक्ने प्रयत्न गर्दैछ । यसबाट थाहा हुन्छ कि यो फिल्मको कथा आमाप्रति सन्तानको माया कति छ भन्ने कुरालाई दर्शाउने छ ।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतीमा निर्माण हुने यस फिल्मको छायांकन आगामी भदौबाट हुनेछ । यो फिल्मको कलाकार को को हुनेछन् भन्नेमा निर्माण पक्षले जानकारी दिएको छैन । फिल्मलाई अभिमन्यु निरवीले लेखेका हुन् । निर्देशक पन्तका अनुसार अहिले फिल्मको थिम पोस्टर मात्रै सार्वजनिक गरिएको हो । केहि दिनमा कलाकारका साथै यस फिल्मको प्राविधिक पक्षको नाम सार्वजनिक गरिने छ ।
निर्देशक चन्द्रले यसअघि एक्सन जनराको फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरिसकेका छन् । उनको यो फिल्म डेब्यु निर्देशन थियो । यस बाहेक उनले भोजपुरी फिल्म पिहत पाँच दर्जनभन्दा बढि नेपाली फिल्ममा द्धन्द्ध निर्देशन गरिसकेका छन् । उनको निर्देशनमा बन्न थालेको ‘आ बाट आमा’दोस्रो निर्देशकिय नेपाली फिल्म बन्न लागेको हो । निर्देशक पन्तले फिल्म ‘ह्रस्व दीर्घ’लाई एउटा उचाईमा पुर्याएका थिए ।









