‘मिसन इम्पोसिबल: द फाइनल रेकोनिङ’ कान्समा भव्य प्रिमियर

फिल्म । हलिउडका सुपरस्टार टम क्रुज अभिनित बहुप्रतिक्षित फिल्म ‘मिसन इम्पोसिबल: द फाइनल रेकोनिङ’ को विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा भव्य प्रिमियर सम्पन्न भएको छ । नेपाली समयानुसार बुधबार राति आयोजित प्रिमियर समारोहमा विश्वभरका सिनेप्रेमी तथा सञ्चारमाध्यमको ध्यान केन्द्रित थियो ।लोकप्रिय एक्सन फ्रेन्चाइज ‘मिसन इम्पोसिबल’ को यो अन्तिम श्रृंखला भएकोले पनि फिल्मलाई लिएर दर्शकमाझ ठूलो कौतुहलता रहेको छ । कान्स फेस्टिभलको दोस्रो दिन पूर्ण रूपमा टम क्रुजमय बन्यो । फोटोकल, अन्तर्क्रियादेखि रेडकार्पेटसम्म क्रुज नै प्रमुख आकर्षण बनेका थिए ।

फिल्ममा ६२ वर्षीय अभिनेता क्रुजले प्रस्तुत गरेका मृत्युसँग सिंगौरी खेल्ने खालका खतरनाक स्टन्टहरूले विशेष चर्चा पाइरहेका छन् । बताइएअनुसार, पानीमुनि खिचिएको करिब ३ मिनेट लामो सास रोक्ने स्टन्टको छायांकनका क्रममा अभिनेता क्रुज मुस्किलले बाँचेका थिए, जुन दृश्य फिल्ममा समावेश गरिएको छ । भेराइटी म्यागजिनका अनुसार, प्रिमियरपछि फिल्मले दर्शकबाट ५ मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

कान्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता क्रुजले ‘मिसन इम्पोसिबल’ को आठौं श्रृंखलाले बक्सअफिसमा नयाँ कीर्तिमान कायम गर्दै यसको महिमालाई पुनःजागृत गर्ने विश्वास व्यक्त गरे । रेडकार्पेटमा क्रुजका साथमा निर्देशक क्रिस्टोफर म्याक्क्वारी लगायत फिल्मका अन्य कलाकारहरू पनि उपस्थित थिए । फिल्ममा क्रुजले सधैंझैँ आइएमएफ एजेन्ट इथन हन्टको भूमिका निर्वाह गरेका छन् ।

१ सय ७० मिनेट लामो यो फिल्मलाई ‘मिसन इम्पोसिबल’ श्रृंखलाकै सबैभन्दा लामो फिल्म बताइएको छ । यो फिल्म भारतमा शुक्रबारदेखि प्रदर्शनमा आउनेछ भने नेपालमा भने आगामी मे २३ तारिखदेखि रिलिज हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्