‘तुलसीराम’ निर्माण घोषणा

फिल्म । बुद्ध जयन्तीको शुभ अवसर पारेर सोमबार नयाँ फिल्म ‘तुलसीराम’ निर्माणको औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार, यसको छायांकन आगामी जेठ महिनाको अन्तिम साताबाट सुरु हुनेछ । फिल्मलाई काठमाडौँ, मकवानपुरको चित्लाङ र हेटौँडाका विभिन्न रमणीय स्थानमा खिचिने योजना छ ।

एल आरआर फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘तुलसीराम’लाई बाबु शाहेब बलामीले निर्देशन तथा निर्माण गर्नेछन् । यसको कथा पनि निर्देशक बलामीकै रहनेछ भने पटकथा शंकर अधिकारी ‘घायल’ले तयार पारेका हुन् ।

यसमा देव महर्जन कार्यकारी निर्माताका साथै द्वन्द्व निर्देशकको भूमिकामा रहनेछन् । संगीततर्फ विकास चौधरी र शंकर कृष्ण घायलले सुमधुर धुन भर्नेछन् । निर्माण टिमका अनुसार, फिल्मले पारिवारिक कथावस्तुलाई प्राथमिकता दिनेछ, जसमा ‘तुलसी’ र ‘राम’ नामका पात्रहरूको जीवनलाई विशेष रूपमा प्रस्तुत गरिनेछ । फिल्ममा पछिल्लो समयका चर्चित कलाकारहरूको अभिनय रहने बताइए पनि कलाकारहरूको नाम भने हाल गोप्य राखिएको छ ।

कमेन्ट गर्नुहोस्