सौन्दर्य । हाउस अफ फेसन नेपालद्वारा गत फागुनमा काठमाडौंमा आयोजित ‘मिसेस भोग नेपाल-२०२५’ की विजेता डा.सुमी मल्लले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई गौरवान्वित बनाएकी छिन् । उनले थाइल्याण्डको बैंककमा सम्पन्न ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल-२०२५’ मा दुई महत्वपूर्ण उपाधि हात पारेकी हुन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा हाउस अफ फेसन नेपालले दिएको जानकारी अनुसार, दन्त चिकित्सक डा.मल्लले उक्त प्रतियोगितामा ‘मिसेस इन्स्पिरेश्नल’ (सबैभन्दा प्रेरणादायी) को उपाधिसँगै ‘सेकेण्ड रनर्स अप’ को उपाधि पनि जितेकी छिन् ।
उक्त पत्रकार सम्मेलनमा विजेताको ताज पहिरिएर प्रस्तुत भएकी डा.मल्लले विश्वका २५ देशका प्रतिस्पर्धीहरुलाई पछि पार्दै दुई उपाधि जित्न सफल भएकोमा खुसी व्यक्त गरिन् ।
उनले भनिन्, ‘मुख्य उपाधि रसियाकी प्रतिस्पर्धीले जितिन्, त्यो क्षण उनको लागि विशेष थियो । तर, एक नेपाली प्रतिस्पर्धीको रुपमा मैले पनि उत्कृष्ट प्रस्तुति दिएँ । मुख्य उपाधि जित्न नसके पनि सेकेण्ड रनर्स अप र मिस इन्स्पिरेश्नलको उपाधि जित्नु मेरो लागि ठूलो उपलब्धि हो।’
पाँच फिट आठ इन्च अग्ली डा. मल्लले प्रतियोगिताको दौरान आफूलाई ‘मिसेस नेपाल’ भनेर गरिएको सम्बोधन र नेपालको पर्यटनबारे सोधिएका जिज्ञासाहरुको जवाफ दिँदा गर्व महसुस भएको बताइन्।
‘मिसेस भोग नेपाल २०२५’ को आयोजक संस्था हाउस अफ फेसन नेपालकी संस्थापक निर्देशक ओशिमा बानुले डा.सुमी मल्लको समर्पण, सुन्दरता र दृढ संकल्पले अन्तर्राष्ट्रियमञ्चमा नेपाललाई चिनाउन सफल भएको बताइन् । उनले भनिन्,‘डा.मल्लले आफ्नो आत्मविश्वास र गरिमाका साथ राष्ट्रको प्रतिनिधित्व गर्दै शक्ति, सौन्दर्य र प्रेरणाको प्रतीक बनेकी छिन्। यो उपलब्धि केवल एउटा मुकुट मात्र होइन, यो डा.मल्लको लामो यात्रा, अथक प्रयास र धेरै मानिसहरुको जीवनमा पारेको सकारात्मक प्रभावको उत्सव हो ।’
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल-२०२५’ को ग्राण्ड फिनाले गत मे १ तारिख (वैशाख १८ गते) बैंककमा सम्पन्न भएको थियो । हाउस अफ फेसन नेपालको प्रशिक्षण र मार्गदर्शनमा डा.सुमी मल्ल आत्मविश्वास र दृढताका साथ प्रतियोगितामा सहभागी भएकी थिइन् । यसैबीच, हाउस अफ फेसन नेपालले तेस्रो संस्करणको ‘मिसेस भोग नेपाल-२०२६’ को घोषणा पनि गरेको छ । आगामी जनवरीमा आयोजना हुने उक्त प्रतियोगितामा विवाहित नेपाली महिलाहरुले प्रतिस्पर्धा गर्न सक्ने संस्थाले जनाएको छ ।












