फिल्म । दीपेन्द्र के खनालले निर्देशनमा तयार भएको फिल्म ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘आँखा’ बोलको गीतमा रिकेश गुरुङको स्वर, राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत रहेको छ । सार्वजनिक गीतको दृश्यमा फिल्मका दुई कलाकार खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी बीचको प्रेम भाव देखाईएको छ ।
‘के घर के डेरा : घर नं २’ सोसल ड्रामा हो । यसको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन् । यो उनको पहिलो लेखन रहेको फिल्म हो ।
यसमा खगेन्द्र र उपासनासँगै निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ । फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।












