फिल्म । अशोक थापा मगरले नयाँ फिल्म घोषणा गरेका छन् । शुक्रबार टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै उनको निर्देशनमा रहने फिल्म ‘जलाकी’ घोषणा गरिएको हो । पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्मको छायांकन शुक्रबार आज बागलुङको कालिका भगवती मन्दिरमा भइरहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमामा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेका छ । गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’बाट उदाएकी मोडल आकृतिको ‘जलाकी’ डेव्यु फिल्म हो ।
कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । यसको छायांकन तिन चरणमा निर्देशक मगरले बताए । रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामासमेत छायांकन गरिने फिल्मले मगर र गुरुङ समुदायको संस्कृतीलाई झल्काउने छ ।
एम मिडिया प्रालीको व्यानरमा निर्माण हुने फिल्मका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । यसमा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना फिल्ममा रहेको छ । निर्देशक मगरले निर्देशित डेब्यु फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ले युट्युबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो नेपाली फिल्मको गीत बनिसकेको छ ।












