फिल्म । अखिल नेपाल फुटवल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले फिल्म ‘अञ्जिला’मा देखाइएको सङ्घर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताएका छन् । हालै फिल्मको आयोजित विशेष शोमा सहभागी भएका अध्यक्ष नेम्वाङ्गले फिल्ममा देखाएइको विषयले हरेक खेलाडीलाई प्रेरणा दिने बताए ।
उनले भने, ‘फिल्ममा देखाइएको पात्रले हाम्रो सबै खेलाडीको प्रतिनिधित्व गर्छ, कप्तान सुब्बाको जस्तो सङ्घर्ष गरेर धेरै खेलाडीले गरेकाछन् । यहाँ हामीले आफ्नो बच्चा पनि लिएर आएका छौँ, किनकी फिल्मले उनीहरूलाई लक्ष्य प्राप्तिका लागि मेहनत गर्न प्रेरणा दिन्छ । यो हरेक खेलाडी हेर्नु पर्ने फिल्म बनेको छ ।’
नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ हेरेपछि हेर्न आयोजित विशेष प्रदर्शनीमा एन्फाका महासचिव किरण राई, पुर्व कप्तान हरि खड्का र विराज महर्जन, खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा, महिला फुटवल सङ्घकि केन्द्रिय सदस्य पेमा लामा र विना श्रेष्ठ, राष्ट्रिय महिला फुटबल टिमको म्यानेजर विन्द्रा देवान लगायत उपस्थित थिए । नेपालमा गएको होलीलाई लक्षित गर्दै फागुन २९ देखि प्रदर्शन भएको फिल्म आउँदो सातादेखि विदेशमा पनि प्रदर्शन हुने निर्माण पक्षले जनाएका छन् ।










