दर्शक भेट्न नेपाल आइपुगिन् सिर्जना

फिल्म । अभिनेत्री सिर्जना सुब्बा नेपाल आइपुगेकी छिन् । गत होलीलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको नेपाली फिल्म ‘अञ्जिला’ले नेपालमा दर्शकको राम्रो साथ पाएपछि उनि दर्शक भेटन नेपाल आएकी हुन् । नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार गरिएको फिल्म हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिएकै कारण दोस्रो सातामा झनै शो बढ्दै प्रदर्शनरत छ । अभिनेत्री सुब्बाले फिल्ममा कप्तान सुब्बाको आमाको भूमिका निर्वाह गरेकी छिन ।

उनले नेपाल आएर दर्शक भेट्न आफू अधैर्य रहेको बताएकी छिन । ‘म नेपाल प्रिमियरमै आउन लागेको थिएँ, तर विविध कारणले आउन सकिन । दर्शकले फिल्म हेरेर दिनुभएको प्रतिक्रियालाई परदेशमा रहेर कहाँ हेर्न सकिदो रहेछ, म दर्शक भेट्न आइपुगेकी हुँ’, उनले भनिन् । उनले कप्तान सुब्बाले फिल्मका निकै राम्रो काम गरेको प्रतिक्रिया दिदै आफूले पहिले देखि चिनेको बताइन ।

नेपालभर शो सङ्ख्या निरन्तर बढ्नु र दर्शकले नै फिल्म हेर्न सिफारिस गर्नुले यसको माग अन्तर्राष्ट्रिय बजारमा समेत बढेको छ । निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सले फिल्मकी एक मुख्य कलाकार सिर्जनालाई नेपालमा पाउँदा खुसि लागेको बताए । सिर्जना पछिल्लो केही समय यता बेलायत बस्दै आइरहेकी थिइन् ।

‘अञ्जिला’लाई लिएर दर्शक तथा समीक्षकहरूले यसको कथा, प्रस्तुति, अभिनय र निर्देशनलाई निकै सराहना गरिरहेका छन् । यसमा कलाकारसमेत रहेका श्रेष्ठ अञ्जिलाका ‘गड फादर’ हुन् । शीर्ष भूमिकामा कप्तान सुब्बा आफैले अभिनय गरेकी छिन् ।

फिल्ममा कप्तान सुब्बासँगै माओत्से गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा, सुमिन गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गरेका छन् । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ । राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने निर्माता श्रेष्ठले बताएका छन् ।

उनले फिल्मबाट संकलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए । फिल्म निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्