फिल्म । प्रणय दिवसको अवसर पारेर आजदेखि दुई नेपाली फिल्म ‘दुःखी आत्मा’ र ‘रङ्गी’ को प्रदर्शन सुरू भएको छ । यौनस्वास्थ्यको विषयमा तयार भएको फिल्म ‘दुःखी आत्मा’ लाई निर्देशक दीपेन्द्र लामाले ‘एडल्ट ड्रामा’ भनेका छन् । यो फिल्म १६ वर्षभन्दा कम उमेर भएकाले अभिभावकसँग मात्र हेर्ने पाउनेछन् । निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताए ।
‘मैले आफ्ना फिल्ममार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु । यौन स्वास्थ्यका विषयमा फिल्ममार्फत बहस गर्नुपर्छ भन्ने लगेर यसलाई ठूलो पर्दामा ल्याएको छु । यसले कमजोरी लुकाउनु भन्दा त्यसको समाधान खोज्न प्रेरित गर्छ’, उनले भने ।
फिल्ममा पुरुषमा ‘इरेक्टाइल डिस्फक्सन’ ले निम्त्याउने समस्यालाई देखाइएको छ । फिल्ममा अभिनेता दयाहाङ राईले, अभिनेत्री आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायत कलाकारले अभिनय गरेकाछन् ।
प्रणय दिवसकै अवसरमा प्रदर्शन भएको अर्को फिल्म हो, ‘रङ्गी’ । बालकलाकार हुँदै अभिनय सुरू गरेका अभिनेता सलोन बस्नेतले निर्माणमा डेब्यु गरेको फिल्ममा बाबुछोरीको कथा देखाईएको छ । सामाजिक सञ्जालमा भेटेको एक भिडियोले आफूलाई फिल्म निर्माण गर्न प्रेरित गरेको अभिनेता बस्नेतले जानकारी दिए ।
‘म फिल्मकै माध्यमले चिनिएँ, बालकलाकारदेखि यहि कर्ममै छु, मलाई मन परेको कथामा फिल्म बनाउने सपना थियो, त्यो पूरा भएको छ’, अभिनेता बस्नेतले भने ।
‘रङ्गी’ मा बुबाको सङ्घर्ष त्यागलाई देखाइएको उनले बताए । यसमा सलोनसँगै सन् २०२२ कि मिस नेपाल नम्रता श्रेष्ठ, विशाल पहाडी, उत्तम केसी, बालकलाकार आयुषी ढकाल, सुमिन गुरुङलगायतले अभिनय गरेका छन् । सुरेश न्यौपानेको निर्देशन रहेको फिल्ममा सुमन गजमेरले कथा लेखन, सौरभ लामाको छायाङ्कन, बन्दे प्रसादले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, कविराज गहतराज र शिशिर खातीले नृत्य निर्देशन गरेका छन् ।










