देश । चितवनमा एक युवकलाई प्रहरीले कुटपिट गरेको घटनामा सङ्लग्न प्रहरीलाई प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले भरतपुर महानगरपालिका–११ बसेनी चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको सन्दर्भमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र संलग्नलाई आवश्यक कारबाहीका लागि निर्देशन भइसकेको जानकारी दिए ।
आजै जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन समिति गठन गरी घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको जनाइएको छ ।
अस्थायी प्रहरी विट गणेशधामका प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेल उक्त घटनामा संलग्न देखिएकाले उनलाई निलम्बन गरी कारबाही थालिएको जिल्ला प्रहरी चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी विज्ञाप्तिमार्फत जनाएका छन् ।