फिल्म । अभिनेत्री वर्षा राउतले फिल्म ‘तेल भिसा’ मा बुहारी र आमाको भूमिका निर्वाह गरेकी छिन् । अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिका निर्वाह गरेकी अभिनेत्री राउतले गर्भवती महिला र आमाको भूमिका निर्वाह गर्न अभिनेत्री ऋचा घिमिरेले सघाउनुभएको बताइन ।
उनले भनिन्,‘मसँग त्यो अनुभव नभएकाले मैले मैले छायांकनका समय ऋचा दिदीसँग छलफल गर्थे । किनकि गर्भवती महिला हिड्ने, बस्ने, रिसाउने स्वभाव अन्य भन्दा फरक हुन्छ । मसँग त्यो अनुभव थिएन तर ऋचा दिदीले तीन जना सन्तान हुर्काउनु भएको छ । उहाँको अनुभवले मलाई सहयोग गर्यो ।’
आउटडोर छायांकनका क्रममा उनले आफूलाई स्थानीय र पर्यटकले गर्भवती भनेर बधाई दिएको समेत स्मरण गरिन् । ‘मलाई शुभकामना दिनु हुन्थ्यो अनि म पनि सहजै स्वीकार्थे । किनकि इनडोर छायांकन हुदा त्यो फुकाल्न मिले पनि आउटडोर हुँदा दिनभर म गर्भवतीकै रुपमा हुन्थे’, अभिनेत्री राउतले भनिन् ।
निर्देशक शङ्कर घिमिरेले आफ्नो सन्तान भेट्न प्रवास पुग्ने अभिभावकको भोगाईमा फिल्म ‘तेल भिसा’ तयार गरेकाछन् । मङ्सिर ७ लाई प्रदर्शन तय गरिएको फिल्मलाई आफूले प्रवासी जीवनमा देखेको एउटा कथालाई दर्शकसम्म ल्याएको उनले बताए ।
‘तेल भिसा’ मा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाईएको छ । यसमा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गरेका छन् । बुवा र छोराको जीवनलाई पर्दामा जीवन्त बनाएका अभिनेता कार्कीले नयाँ अनुभव सङगालेको बताए ।
यसमा अभिनेता कार्कीसँगै पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने छ ।











