‘फ्र्याक्चर’को छायाङ्कन सकियो

फिल्म । गत जेठमा प्रदर्शन भएको नेपाली फिल्म ‘पुजार सार्की’ निर्माण गरी सफलता हासिल गरेको निर्माण कम्पनी किङ्डम नेटवर्कले आफ्नो दोस्रो चलचित्र ‘फ्र्याक्चर’ निर्माण गरेको छ । अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरेको यो चलचित्र पूर्ण रूपमा अङ्ग्रेजी भाषामा रहेको छ । नेपालका अभिनेता आर्यन सिग्देलसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टको प्रमुख अभिनय रहेको छ । यस चलचित्रमा बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायत अन्य नेपाली कलाकारहरूले पनि काम गरेका छन् ।

किङ्डम नेटवर्क हालै मात्र संयुक्त राज्य अमेरिकामा समेत स्थापना गरी यो चलचित्र निर्माण गरिएको निर्माता सुवास भुसालले बताएका छन् । यस चलचित्रका अभिनेता ट्रेन्टन हलिउड अभिनेता हुन् । उनले ‘हलीउड किल्स,’ ‘अन्डर द वेस्टर्न सन,’ ‘सिरोनिया,’ ‘द रेड, ब्ल्याक एन्ड ब्लोन्ड: गड सेभ,’ ‘बिटविन किंग्स एन्ड क्विन्स,’ ‘लस एन्सिनोस’ लगायतका चलचित्रहरू र दर्जनौँ टेलिभिजन शृङ्खलामा अभिनय गरेका छन् ।

यस चलचित्रको निर्माणमा क्रिश बेरुटी, हिमाल आरोहण विशेषज्ञ एन्ड्रयु ह्युज, दुई पटक एमी पुरस्कार विजेता निर्माता गर्रेट म्याडिसन लगायतको पनि सहभागिता रहेको छ । चलचित्रको लेखन यसका निर्माता क्रिश बेरुटीले नै गरेका छन् । चलचित्रका सिनेमाटोग्राफर डकोटा डियल हुन् । उनले ‘आर्मी अफ द डेड,’ ‘नेक्स्ट अफ किन,’ ‘एनएफएल ३६०: द गिफ्ट अफ गाबा’ लगायतका चलचित्रको छायाङ्कन गरेका छन् ।

यो चलचित्रको प्रायः दृश्यहरू नेपालमा छायाङ्कन गरिएको छ । चलचित्रका करिब ७० प्रतिशत दृश्यहरू काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म पुगी छायाङ्कन गरिएको छ । ‘फ्र्याक्चर’को कथा एक जना अमेरिकी सैनिक ज्याक स्टेन्टन नामक पात्रको वरिपरि घुम्छ, जसले आफ्नो नेपालमा हराएको साथीलाई बचाउन नेपालको सगरमाथा क्षेत्रको खतरनाक यात्रा गर्छ । यस चलचित्रमा मानवीय साहस र सङ्घर्षलाई पर्दामा जीवित रूपमा उतारिएको निर्देशक ट्राभिसले जनाए । नेपालमा मनोज जोशी प्रोडक्सन कन्ट्रोलरको काम गरेका छन् भने विकास सुवेदी लाइन प्रोड्युसर हुन् ।

निर्देशक रायन अनुभवी चलचित्र निर्देशक, निर्माता र छायाकार हुन्, जसले ‘एनएफएल ३६०’ जस्ता प्रोजेक्टहरूमा एमि पुरस्कार जितेका छन् । उनले यसअघि फिचर चलचित्र ‘गेम थेरापी’ निर्देशन गरेका थिए भने ‘केभिन हार्ट’सँगको ‘हार्ट अफ इट अल’ र ईएसपीएनको हिप हपमा आधारित डकुमेन्ट्री ‘द क्रसओभर’ जस्ता प्रोजेक्टहरूको निर्देशन गरेका छन् ।

निर्माता गर्रेट म्याडिसनले १४ पटक सगरमाथा आरोहण गरेका छन् । गर्रेटले विश्वकै कठिन र खतरनाक मानिने ‘के टु’ हिमालको पहिलो सफल ‘गाइडेड’ आरोहण पनि नेतृत्व गरेका थिए । गर्रेट, हलिउडका एभरेस्ट र अन्य फिल्म निर्माणहरूको लागि नियमित रूपमा परामर्शदाताको काम पनि गर्दै आएका छन् । उनले विभिन्न उच्च-उचाइ आरोहण कीर्तिमानहरू राखेका छन्, जसमध्ये ल्होत्से हिमाल एकै दिनमा पाँच पटक आरोहण गर्ने एकमात्र व्यक्ति हुन् ।

कमेन्ट गर्नुहोस्