डिसेम्बर ७ देखि जापानमा ‘ह्रस्व दीर्घ’

फिल्म । यही कार्तिक ३० गतेबाट प्रदर्शन हुने फिल्म ‘ह्रस्व दीर्घ’को जापान प्रदर्शन तय भएको छ । जापानको टोकियो,नारिता,नागोया, फुकुओका,ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाकालगायत विभिन्न चौधवटा शहरमा ‘ह्रस्व दीर्घ’ प्रदर्शन तय भएको छ । यो न्युज तयार पार्दासम्म चिबामा भने डिसेम्बर ७ मा सिभिक थियटरमा साँझ ६ बजे शो तय भएको छ ।

नेपाल र भारतीय कलाकारको अभिनयका कारण राम्रो हाइप बनाइरहेको फिल्मको अन्य स्थानमा पनि शो छिटै तय हुने आयोजकले जनाएका छन् । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ लाई एउटा पूर्ण रूपको फ्यामिली ड्रामा भनिएको छ ।

‘यो फिल्ममा चाहिने सम्पूर्ण मनोरन्जनको खुराक छ । यसले मुहारमा हाँसो ल्याउनुका साथै आँखालाई शितलता दिन्छ । यो सबै वर्गका दर्शकको लागि हो, यो फिल्म हेर्न सपरिवार हलमा पुग्न आग्रह गर्दछु’, निर्देशक पन्तले भने ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्