
फिल्म । अभिनेता हरिवंश आचार्यले सानो पर्दा भनिने टेलिभिजन हुँदै फिल्ममा आफूलाई स्थापित गर्ने हाँस्य कलाकार देख्दा खुसी लागेको बताएका छन् । ‘लाज शरणम्’ को औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै अभिनेता आचार्यले सुरुआती दिनमा सानो पर्दालाई ठूलो पर्दा जत्तिको इज्जत प्राप्त नभएको स्मरण गरे ।
‘मलाई सुरुआती समयमा पनि घरघरमा पुग्ने माध्यम कहिले सानो हुँदैन भन्ने लाग्थ्यो । सोही भावना बोकेर जहिले उत्साहका साथ् काम गर्यौं । सोही माध्यमबाट टेलिभिजनमा सफल भएर अहिले फिल्ममा समेत स्थापित भएको देख्दा हर्षित हुन्छु । दीपा बहिनी, प्रदीप भाई लगायत थुप्रै नाम छन्, जसले हामीलाई गर्विलो महसुश गराएका छन्’, अभिनेता आचार्यले भने ।
उनले पछिल्लो पुस्ताको रुपमा जिग्री पाडे ग्रुप फिल्म निर्माण आएको देख्दा नयाँ पुस्ता पनि उत्तिकै आकर्षित देखिएको बताउदै खुसी व्यक्त गरे । ‘टेली शृंखलामा पाएको सफलता र बटुलेको अनुभवलाई फिल्ममा प्रयोग गरेर सफल हुनुहुनेछ भन्नेमा विश्वस्त छु’, उनले भने ।
‘सक्किगोनि’ मार्फत दर्शक माँझ चर्चित भएका जिग्री पाँडे समुहले फिल्म निर्माण घोषणा गरेका हुन् । नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेको फिल्ममा निर्देशक कट्टेलसँगै अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ ।