सङ्गीत । अभिनेत्री केकी अधिकारीले आफूलाई स्कुले जीवनमै मन परेको गीतमा अभिनय गर्न पाएको बताएकी छिन् । आफू स्कुल र कलेजमा छदा उनले हिमाल सागरको स्वर र सङ्गीतमा तयार भएको गीत ‘न मैले लेखें, न उनले लेखिन’ थुप्रै पटक सुनेको बताइन ।
उनले भनिन्,’यो गीत मैले रेडियोमा पटक पटक फर्माइस गरेकी छु । निकै मन पर्ने गीत भएकाले धेरैलाई डेडीकेट पनि गरें । अहिले यो गीतमा अभिनय गर्न पाउँदा म निकै हर्षित छु ।’
केकीले आफू अष्ट्रेलियामा रहदा नै यो गीतमा अभिनय गर्ने अफर निर्देशक निकेश खड्कामार्फत प्राप्त गरेको बताइन । ‘मलाई निकेशले गीत पठाएर अभिनय गर्ने हो भनेपछि मैले अष्ट्रेलिया भ्रमण छोट्याएर नै आएँ । म केही समय विश्राम गर्ने तयारीमा थिएँ, तर आफ्नो फेवरेट गीत भएपछि काम मै व्यस्त भए । शनिवार विहान पोखराबाट काठमाडौँ आएर यो कार्यक्रम सकेर पुनः पोखरा फर्किदै छु’, केकीले भनिन् ।
उनलाई नयाँ शैलीमा तयार भएको गीत र म्युजिकल फिल्म बनाउन प्रयोग गरिएको पटकथा मन परेको छ । गीतमा केकीसँगै गायिक हिमाल सागरले अभिनय गरेका छन् । पहिलो गीत नै सफल भएपछि गायक हिमाल सागरले ‘मेरो माया मारेपछि’,‘तिमीले माया नगरे’,‘मेरो मनमा आगो लाउने को’,‘तीन ढिके फूली लाएर आइछौ’,‘कल्लाई थाहा छौँ’ लगायत हिट गीत सार्वजनिक गरिसकेका छन् । सात वटा एकल एल्बम सार्वजनिक गरिसकेका गायक हिमाल सागरले साङ्गीतिक कार्यक्रमका लागि ६५ वटा भन्दा बढी देश भ्रमण गरिसकेका छन् ।
गीतमा निकेश खड्काको निर्देशन, धीरजजङ्ग शाहको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको छ । भुवन गिरी, प्रज्वल गिरी र रुपेश थापाद्वारा निर्मित ‘न मैले लेखें, न उनले लेखिन’ बोल रहेको गीतको भिडियो नेपाल रिदम रेकर्ड्स (एनआरआर) बाट सार्वजनिक गरिएको छ ।