
फिल्म । पछिल्लो समय थियटर हुँदै फिल्ममा आउने कलाकारको सङ्ख्या लामो छ । नाटकघरबाटै दर्शक माँझ आफूलाई अब्बल कलाकार सावित गरेका दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की अहिलेका फिल्ममा सर्वाधिक खोजिने नाम बनिसकेका छन् । उनीहरूको सफलताले नाटक घरबाट धेरै कलाकारलाई फिल्ममा पुग्न मदत पुगेको छ ।
यही सूचीमा थपिएका छन्, उत्पल झा । उनले अभिनय गरेको फिल्म ‘बाटोः रोड टु डेथ’ आउँदो शुक्रबारबाट प्रदर्शन हुँदैछ । ‘रोड थ्रिलर’ विधामा तयार गरिएको फिल्ममा उत्पल ‘कास्टिङ डिरेक्टर’ को रुपमा जोडिएका थिए । किनकि उनले फिल्म सम्बन्धी अध्यन गराईने संस्था अस्कर कलेजमा निर्देशन विधाको अध्यन गरेका थिए ।
‘मैले निर्देशन पढेको हुँ । धेरै नाटकमा अभिनय गरेपछि यसमा मलाई पात्रमा उपयुक्त हुने कलाकारको जिम्मेवारी दिइयो । यद्यपि निर्देशक र निर्माताले मेरो काम हेर्नुभएकोले एउटा भूमिका गर्न आग्रह गर्नुभयो । नयाँ विषय र नयाँ प्रयोग भएकाले मैले पनि फिल्ममा आउने उपयुक्त समय देखेर अभिनय गरेको हुँ’, अभिनेता झाले भने ।
विज्ञानको विद्यार्थी भएता पनि उनले फिल्म अध्यन गरे । निर्देशनको विद्यार्थी भएता पनि उनले अभिनयको कक्षासमेत लिए । अस्करबाट निस्किदै गर्दा उनले ‘वान वर्ल्ड’ थियटरको नाटकमा काम गर्ने मौका पाए । अंग्रेजी राम्रो भएकाले उनले त्यहाँ स-सानो भूमिका पाए । त्यो सानो भूमिका विस्तारै ठूलो भयो । कयौँ नाटकमा अभिनय गरेपछि उनले फिल्म पाएका हुन् ।
कोरोना महामारीको समयमा एउटा यात्रा तय गर्नुपर्ने हुन्छ । त्यहि यात्रामा भेटिने साथी र हुने घटनालाई फिल्ममा प्रस्तुत गरिएको छ । यो एउटा यात्राको कथा रहेको अभिनेता झाले बताए । उनले फिल्ममा मञ्जिल केसीको भूमिका निर्वाह गर्नुभएको छ । आफ्नै बाध्यताले कोरोनाको बन्दाबन्दीमा एउटा यात्रा गर्ने पर्ने बाध्यता र त्यहाँ भेटिने पात्रसँगै बाटोमा सामना गर्नुपर्ने अप्रत्यासित असामान्य गतिविधिमामा चलचित्र केन्द्रीत रहेको अभिनेता झाले जानकारी दिए ।
फिल्ममा अभिनेता झासँगै मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, विजय आनन्द ताम्राकार, राजेन थापा लगायतका कलाकारले अभिनय गरेका छन् । मदन थापाको लेखन र निर्देशन रहेको फिल्ममा शरण ऋषिले छायाङ्कन, एनबी महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।



