यथार्थसँग नजिक ‘लण्डन टु पेरिस’

फिल्म । आउँदो जेठ २५ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लण्डन टु पेरिस’ युवापुस्ताको प्रेम र आकर्षणलाई देखाईएको छ । निर्देशक घनश्याम लामिछानेले यसलाई लन्डनको मनोरम दृश्यमा छायांकन गरेका छन् । फिल्ममा लन्डनदेखि पेरिससम्मको यात्रा र प्रेमलाई देखाईएको छ । नेपाल बाहिर भएपनि फिल्मको दृश्यमा कुनै सम्झौता नगरेर फिल्म छायांकन गरिएको निर्देशक लामिछानेले बताए । ‘स्किल छ भने जुनसुकै लोकसन र विषयको फिल्म पनि राम्रो बनाउनसकिन्छ’, उनले भने ।

उनले फिल्म भित्र रहेका पात्र एकआपसमा जोडिएको बताए । ‘उनीहरु एकआपसमा मजाले कनेक्सन हुन्छन् । कथा राम्रो भएकाले पनि थप सहज भएको छ । कथालाई न्याय दिनेगरी भिजुअल तयार भएको छ,’ निर्देशक लामिछानेले भने, ‘ब्यापार कति गर्छ मलाई थाहा छैन । तर दर्शकले फिल्म रुचाउनेमा म ढुक्क छु ।’

लेखक प्रदीप भारद्धाज आफूले मनले खाएको युथको लभस्टोरी पहिलोपटक लेखेको बताए । ‘युथसेन्ट्रिक फिल्म लेख्नु पर्यो भनेर आफैँले स्वतस्फूर्त रूपमा लेखेको हुँ । कुनै निर्माताले यस्तो स्टोरी चाहियो भनेर लेखेको होइन । स्टोरी सुनेपछि प्रोडुसरले स्क्रिप्ट लिनुभएको हो’, प्रदीपले भने, ‘यो मैले लेख्न चाहेको कथा हो । किनकि यसमा लेख्ने समयमा कसैको दबाब थिएन । यसमा हामीले यथार्थ देखाएका छौँ । फिल्म हेर्दा अकल्पनीय दृश्य नलागोस् भनेर सरल बनेका छौँ । हाम्रो आम जीवनमा जे हुन्छ, फिल्ममा पनि त्यहि छ ।’

लभस्टोरी भए पनि धेरै काल्पनिक नभएको उनले बताए । लार्जरदेन लाइफ भएपनि सत्यताको नजिक अथवा यतिसम्म त हुन्छ भन्ने रहेको उनको भनाइ छ । नश्याम लामिछानेको निर्देशनमा तयार भएको फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । यसको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चल र गरिमासँगै कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्ममार्फत डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । यसमा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेकाछन् । सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुन् । फिल्म जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।

यसमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।

कमेन्ट गर्नुहोस्