काठमाडौँ शाखालाई ध्यानाकर्षण

देश । नेपाल पत्रकार महासङ्घले सुरू गरेको सदस्यता शुद्धीकरण अभियानलाई पूर्णता दिएर मात्र अधिवेशन गर्न आग्रहसहित नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाका पदाधिकारीले नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सुर्य सुवेदीलाई पत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ ।

युनियनका काठमाडौँ शाखाका उपाध्यक्ष रोमन आचार्यको नेतृत्वमा पुगेको समूहले महासङ्घलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउन युनियनले सदैव सहकार्य गरिरहेको बताउदै शुद्धीकरण अभियानलाई थाती राखेर आगामी चैत २९ गते अधिवेशन नगर्न आग्रह गरेको हो ।

‘हामीले सदस्यताको टुङ्गो नलगाई अधिवेशन प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका छौँ । मतदाताको विषयलाई अन्यौलमा राखेर असल नेतृत्व चयन गर्न सकिदैन’, उपाध्यक्ष आचार्यले भने ।

काठमाडौँ शाखाका अध्यक्ष सुवेदीले पत्र बुझ्दै यसलाई केन्द्रीय समितिसम्म पुर्याउने बताउनुभयो । उनले भने,‘हामी केन्द्र अन्तर्गतको शाखा भएकाले आएको निर्देशन अनुसार नै काम गरिरहेका छौँ । हामी पत्रकारहरुलाई बाहिर राखेर अधिवेशन गर्ने पक्षमा छैनौँ । म हाम्रो कार्यसमिति र केन्द्रीय समितिसँग यो ध्यानाकर्षण बारे छलफल गर्छौं ।’

नेपाल प्रेस युनियनको केन्द्रीय समितिको गत चैत १७ गते इटहरीमा बसेको वैठकले नेपाल पत्रकार महासङ्घलाई सदस्यता शुद्धीकरणको विषयलाई टुङगो लगाएर मात्र अधिवेशनमा जान आग्रह गरेको थियो ।

कमेन्ट गर्नुहोस्