गृहमन्त्री श्रेष्ठले हेरे ‘गोर्खा वारियर’

फिल्म । आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा आयोजना गरिएको नेपाली फिल्म ‘गोर्खा वारियर’ विशेष प्रदशनीमा फिल्म हेरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तारिफ गरेका छन् । उनले निर्माता सुमन राई, लेखक तथा निर्देशक मिलन चाम्सलाई बधाई दिदै यस्ता फिल्म निर्माण बढाउन आग्रह गरे ।

‘यसमा वीरताको कथासँगै नेपाली मौलिकता, गाउँको परिवेश, संस्कृतिलाई समावेश गरिएको छ । निर्माण पक्षलाई बधाई दिदै यस्ता फिल्म निर्माणलाई सङ्ख्यात्मक रुपमा बढाउन आग्रह गर्दछु’, गृहमन्त्री श्रेष्ठले भने । विशेष प्रदर्शनीमा उपस्थित निर्देशक चाम्स, अभिनेता रितेश चाम्स, निर्माता सुमन राई, वितरक करण श्रेष्ठलगायतले पनि फिल्मको विषयमा चर्चा गरेका थिए ।

‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालभर प्रदर्शनरत छ । निर्देशक मिलन चाम्सले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।

कमेन्ट गर्नुहोस्