‘गोर्खा वारियर नहेरे पाप लाग्छ’ : हर्क साम्पाङ

फिल्म । सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको फिल्म ‘गोर्खा वारियर’ हरेक नेपालीले हेर्नु पर्ने धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत नै आह्वान गर्दै आफूले प्रिमियरमा फिल्म हेर्दा भावुक भएको र आँसु रोक्न नसकेको जानकारी दिए ।

मेयर साम्पाङले भने,‘लाहुरेको परिवारले फिल्म हेरेन भने पाप नै लाग्छ, अनिवार्य हेर्नु । यो सबै नेपालीले हेर्नु पर्ने फिल्म हो । गोर्खालीको वीरतालाई पर्दामा हेर्दा छुटै आनन्द आउँछ ।’ उनले निर्देशक तथा निर्माता मिलन चाम्सलाई विशेष धन्यवाद दिदै फिल्म भित्रका कलाकारले जीवन्त अभिनय गरेको बताए ।

फिल्म हेरेका विशिष्ट अतिथिदेखि चलचित्रकर्मीले यसको मेकिङ र विषयवस्तुको तारिफ गरेका छन् । फिल्मले सार्वजनिक प्रदर्शन आरम्भ गरेको अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विज्ञाप्ति जारी गर्दै गोर्खालीको विषय र कला, संस्कृतिलाई पर्दामा ल्याईएको भन्दै फिल्मको सफलताको शुभकामना दिएका छन् ।

यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुन् । फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा फागुन ११ मा प्रदर्शन हुँदैछ । निर्देशक मिलन चाम्सले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसिएट वितरकमा रीच इन्टरटेनमेन्ट रहेको छ ।

वितरक करण श्रेष्ठका अनुसार फिल्मको अकुपेन्सी उत्साहजनक देखिएको छ । काठमाडौँका हलमा पुगेका दर्शकले सकारात्मक ‘वर्ड अफ माउथ’ दिएका छन् । उनले केही स्थानमा आज नै हाउसफुल भएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्