फिल्म । अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । फागुन २५ गतेबाट रिलिज हुने ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको अहिले प्रचारप्रसार चलिरहेको छ । अभिनेत्री रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसहित अमेरिकामा छिन् । उनले अमेरिकामै बसेर फिल्मको प्रचारप्रसार गरिरहेकी छन् ।
जीवनमा पहिलोपटक मातृत्वको अनुभव लिँदै गरेकी रेखा केही नर्भस र केही उत्साहित छिन् । ‘पहिलो पटकको अनुभवले पनि यी कुरा एक महिलाको जीवनमा आउँदा रहेछन् । तर पनि म खुशी छु । किनकी अब नयाँ अनुभव संगाल्ने दिन नजिकिँदैछ’, उनले भनिन् ।
फिल्म ‘मालिका’ रिलिजको पाँच वर्षपछि दर्शकमाझ अभिनेत्रीका रुपमा फिल्म ‘उपहार’मार्फत पुनः आउँदै गरेकी रेखाले यत्रो ग्याप हुनुमा कोभिड र त्यसपछिको राजनीतिको समय बताउछिन् । ‘आम दर्शकको बुझाईबाट हेर्दा ‘उपहार’ अमूल्य चिज हो । जसको मूल्य हुँदैन । दर्शकका लागि ‘उपहार’ पनि अमूल्य चिज नै हो । फिल्म दर्शकको मन मस्तिस्कमा बस्नेगरी लेखिएको र बनाइएको छ’, रेखाले भनिन् ।
उनले ‘उपहार’मा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका दावी गरेकी छिन् । ‘उपहारमा समाज रुपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान छन् । मेरो फिल्म भनेपछि नारी शसक्तीकरण अवश्य जोडिन्छ । हाम्रो फिल्ममा नारीमात्र होइन, पुरुष पनि पीडित छन् भन्ने कुरा देखाइएको छ । भलै पुरुषले आफ्नो पीडालाई खुलेर भन्दैनन्’, रेखाले भनिन् ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा प्रस्तुतकर्ता छिन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । निर्माण पक्षले यसअघि फिल्मका दुई गीत ‘वाह वाह वाह’ र ‘मुटुको चार आना’ बोलका गीत सार्वजनिक गरिसकेका छन् ।
फिल्ममा रेखा थापा, मुकुन भुषाल, पुजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन र आशा भुषालको अभिनय छ । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।
(अमेरिकामा रहेकी अभिनेत्री थापासँग रङ्ग पत्रकार नेमिष गौतमले गर्नुभएको कुराकानीमा आधारित )













