फिल्म । यही पुस २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चित्रा’ मार्फत सन्तोष अधिकारी अभिनेताको रुपमा परिचय थप्दै छन् । यसअगाडि उनलाई फेशन शो इभेन्ट आयोजक र सह निर्माताको रुपमा चिन्ने गरिन्थ्यो । तर, अभिनेता बन्ने तयारी भने उनले केही समयदेखि नै थालेका थिए । उनले आफ्नो लुक्स र चरित्रलाई लिएर चारवर्ष अगाडिदेखि नै तयारी थालेको बताए ।
‘मलाई पोस्टरमा देख्नु भएको लुक्सको तयारी मैले चारवर्ष अगाडि नै गरेको थिएँ । बुवाछोरीको कथामा मलाई सहज भयो । किनकि म पर्दा बाहिर जे गर्छु, त्यही गरे’, अभिनेता अधिकारीले भने,‘मलाई द्वन्द्वका दृश्यमा केही असहजता नभएको होइन, तर सम्पूर्ण टीमको कारण राम्रोसँग भयो ।’
सुहाउँदो भूमिकामा रहेकाले कास्टिङ गरिएको निर्देशक घनश्याम लामिछानेले बताए । ‘उहाँ अभिनयमा नयाँ हो । तर, यस क्षेत्रसँग जोडिएको पुरानो नाम हो । उहाँले एउटा बुवाको भूमिकालाई जीवन्त बनाउने देखेर नै छनोट गरेको हुँ’, निर्देशक लामिछानेले भने । उनले अभिनेता अधिकारीको कास्टिङ प्रति उठेको प्रश्नको जवाफ फिल्मले दिनेमा जोड दिए ।
फिल्ममा प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, अन्जना बराईली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

आशिष थापा मगर निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अभिनेता अधिकारी हुन् । यसमा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा, राजनराज शिवाकोटीको सङ्गीत, महेश पौडेलको छायाँकन, शैलेश श्रेष्ठको पार्श्व सङ्गीत, बनिश शाह र सन्देश शाहको सम्पादन रहेको छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको वितरण श्री कृष्ण फिल्म्सले गर्दैछ । यसको अष्ट्रेलिया प्रदर्शक भने अविनास रोकामगर हुन् ।










