फिल्म । आउँदो तिहारलाई लक्षित गर्दै प्रदर्शन हुने फिल्म ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले दसैँको अवसर पारेर सार्वजनिक गरेको ट्रेलरमा एक आम मानिसले सिस्टमसँग गरेको विद्रोहलाई देखाईएको छ । नेपाली फिल्मको कथ्य शैलीमा परिवर्तन ल्याएका निर्देशक निश्चल बस्नेत केही वर्षको विश्राम पश्चात पुनः निर्देशनमा सक्रिय भएका छन् । उनले फिल्म ‘दिमाग खराब’ मा आम मानिसको कथा लिएर आएका छन् । यसपटक पनि उनले मल्टीस्टार कास्टलाई प्राथमिकता दिएका छन् । सामाजिक विषयवस्तुमा राजनीति मिश्रण गरेका निश्चलले आम मानिसको दिमाग खराब हुने अवस्थालाई फिल्ममा चित्रण गरिएको बताए ।
उनले भने,‘मैले कुनै राजनीतिक एजेन्डालाई कथा बनाएको छैन । यद्यपि हामीले सामाजिक विषयलाई राजनीति नछोई भन्दा पूर्ण हुदैन । त्यहिँ मात्र गरिएको हो ।’ उनले आफ्ना पछिल्ला फिल्महरूमा देखिएका पात्रहरू राजनीति वा त्यसको परिस्थितिले बनाएको हुने गरेको स्वीकार्दै फिल्म विसुद्ध मनोरञ्जनका लागि तयार गरेको जानकारी दिए ।
‘एउटा साधारण मान्छेको आफ्नै भोगाईहरु हुन्छ । देशप्रति आशा हुन्छ । यी सबै चिजहरुले कसरी एउटा साधारण मान्छेको दिमाग खराब हुन पुग्छ भन्ने उत्तर खोज्ने क्रममा कथा तयार भएको हो’, निश्चलले भने ।
‘लुट’बाट निर्देशनमा उदाएका निश्चलले तात्कालिन समयमा पर्दामा देखिने अभिनेता भन्दा बढी लोकप्रियता पाएका थिए । पर्दा पछाडी रहेर उनले बनाएको स्टारडम उनकै कामको प्रतिफल थियो । ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’ पश्चात उनले अन्य फिल्म निर्देशन गर्ने आट गरेनन् ।
सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको सिनेमामा आकाश बरालको लेखन छ । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिमाग खराब’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।
रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।








