फिल्म । केकी अधिकारी र सलोन बस्नेत फिचर्ड भएको नेपाली फिल्म ‘जय हो’ मा समावेश ‘म राजा भए, तिमी रानी हुनुपर्छ’ गीत लोकप्रिय बनेको छ । गीतलाई पाँच दिनमा पाँच लाख पटक हेरिएको छ भने यसको टिकटक बन्ने क्रम बढ्दो छ । विशेषत यसको केही लाइनलाई लिएर टिकटकमा धेरै नै भिडियो बनेका छन् । यसले फिल्मको प्रचारमा सहयोग पुगेको छ ।
आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’को गीतमा सागर आले मगर र सदिक्ष्या कट्टेलको स्वर छ भने सागर स्वयंको शब्द तथा संगीत छ । टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।
फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । फिल्मलाई मुस्ताङ र पोखरा क्षेत्रमा खिचिएको हो ।












