फिल्म । गत असार २३ गते देखि काठमाडौँमा जारी ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ को एघारौँ संस्करण सम्पन्न भएको छ । महोत्सवमा अन्तराष्ट्रियतर्फ घानाको सर्ट फिल्म ‘या’ बाट निर्देशक इसी ह्यामोहले जुरी अवार्ड जितिन् । अफ्रिकन डक्युमेन्ट्रीको अवार्ड जिम्वावेको डक्युमेन्ट्रि ‘कलिङ द डेड’ले हाँसिल गर्दा केन्या र जर्मनको कात्जा बेनरज निर्देशित सर्ट फिल्म ‘वाटु वाटो’ले अफ्रिकन सर्ट फिल्मको अवार्ड हाँसिल गर्यो ।
लिसिनियो एजेभेदो निर्देशित मोजाम्बियाको फिल्म ‘द ट्रेन अफ साल्ट एन्ड सुगर’ले सार्वोत्कृष्ट अफ्रिकन फिचर फिल्मको अवार्ड चुम्यो । नायक अभिनेता आर्यन सिग्देल, निर्देशक सुदर्शन थापा, कान्तिपुरका कपी एडिटर पारस प्रकाश नेपाल, गायिका तथा संगीतविज्ञ झुमा लिम्बु र अभिनेता/गायक तथा फेसन टोक्नोलोजी विशेषज्ञ फुपु तेन्जिङ शेर्पा अन्तराष्ट्रिय अफ्रिकन फिल्मको निर्णायकमा थिए ।
नेपाली फिल्मको प्रतिस्पर्धामा दिनेश राउतको ‘प्रकाश’ उत्कृष्ट भएको छ । सोही फिल्मबाट विकास सुवेदीले लेखकको अवार्ड, ‘मान्छे मान्छे’ गीतबाट एलिस कार्कीले संगीतकारको अवार्ड विजेता बने ।अभिनेताको अवार्ड ‘प्रेमगञ्ज’बाट तेज गिरीले र अभिनेत्रीको अवार्ड ‘भाग्य’बाट अभिनेत्री निता ढुँगानाले जितिन् ।
राष्ट्रिय तर्फको निर्णायकमा निर्देशक सत्यराज चौलागाई, गायकद्धय नमराज ढुँगाना, नारायण थापा, एरेन्जर अमोस तामाङ र ध्वानी सम्पादक मनोज परियार थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा अग्रज संगीतकार शम्भुजीत बासकोटाको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा केहि फिल्मकर्मी सम्मानित समेत भएका थिए ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजना तथा चलचित्र विकाश बोर्ड र लिक्षण क्रियसन प्रा.लि.को सह आयोजनामा सम्पन्न यो समारोहमा कुल २२ वटा फिल्म प्रदर्शन गरियो ।
समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा अग्रज संगीतकार बासकोटाले यस्तो अन्तराष्ट्रिय महोत्सबलाई सरकारले विशेष सहयोग गर्नु पर्ने बताए । महोत्सव निर्देशक डब्बु क्षत्रीले आर्थिक अभावका कारण पनि आफ्नै खर्चमा यहाँसम्म ल्याउन सकेको बताए ।