फिल्म । शुक्रबारदेखि हलमा दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भईरहेको छ । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । निर्देशक रामराघव आचार्यले निर्देशन गर्नुभएको चलचित्र ‘ए साथी सुन’ प्रेमकथामा आधारित छ ।
‘यसमा प्रेमकथासँगै सामाजिक कथालाई समेटेका छौँ’,निर्देशक आचार्यले भन्नुभयो । चलचित्रलाई टायम कट्टेल र विना कार्कीले निर्माण गर्नुभएको हो । ‘चलचित्रले समाजको यथार्थलाई प्रस्तुत गरेको छ ‘,निर्माता कट्टेलले भन्नुभयो । चलचित्रमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
विश्वभर अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ बाट प्रदर्शन भएको चलचित्र ‘डाकिनी’ बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का गतिविधि सुनिने दन्त्यकथामै आधारमा तयार गरिएको छ । यसमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ ।
बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहनुभएको चलचित्रमा साठी प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ । छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय रहेको चलचित्र सिमित हलमा मात्र प्रदर्शन भईरहेको छ ।
‘हामीले व्यावसायिक प्रदर्शन गर्न लागेका होइनौँ । विश्वभर महोत्सवमा देखाइएको र रुचाइएको नेपाली कथा नेपाली दर्शकलाई कस्तो लाग्छ भन्ने जान्न उत्सुक छौँ’, निर्माता बानियाँले भन्नुभयो । प्रदर्शनसँगै ‘कला सप्ताह’ को रूपमा चलचित्र प्रदर्शन, मास्टरक्लास, नाटक मञ्चन लगायत गतिविधी गर्न लगिएको उहाँले जानकारी दिनुभयो ।










