फिल्म। नेपाली फिल्ममा पोस्टरले चर्चा पाउने कमै बन्ने गर्छन्। पछिल्लो समय सार्वजनिक गरिएको ‘परस्त्री’ को पोस्टर त्यस मध्येकै एक रहेको छ। ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरले फिल्मको विशेषतालाई झल्काउँछ। कलाकार सुरज पाण्डेको निर्देशकीय डेब्यु रहेको फिल्म ‘परस्त्री’ मा विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको विषयलाई समेटिएको छ। आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने यो फिल्म नेपालीसँगै हिन्दी भाषामा समेत प्रदर्शन हुँदैछ।
सार्वजनिक चार पोस्टरमा मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्ट फिचर्ड छन् । विशेषत शिल्पाको लुक्सले पोस्टरतर्फ ध्यान खिचेको छ। काठमाडौं र मुस्ताङमा छायांकन गरिएको फिल्मका डिओपी निरज कँडेल हुन् ।डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता शर्मिला पाण्डे र दीपेन्द्र के खनाल हुन् । ‘चपली हाइट’ निर्देशन गरेर इरोटिक स्टोरीलाई पर्दामा उतार्न सफल निर्देशक खनालनै यसका लेखक हुन्। हाल भारतको मुम्बईमा प्राविधिक काम भैरहेको छ । फिल्मलाई नेपाल वितरण करण श्रेष्ठले गर्दैछन्।












