फिल्म। केन्द्रीय चलचित्र जाँच समितिले नेपाली चलचित्र ‘काँडेतार’लाई हेरेपछि केही सुधार गर्न आग्रह गरेको छ। सोमबार बेलुकी समितिले चलचित्र हेरेपछि जाँचपासको प्रमाणपत्र दिनु अगाडी केही सुधार गर्न आग्रह गरेको हो। दुई देशबीचको विषय संवेदनशील देखिएकाले केही दृश्य र संवादलाई मिलाउन भनिएको जाँच समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो। ‘हामीले चलचित्र प्रदर्शन रोकेका छैनौँ। हाम्रो समितिले केही सुझाव दिएका हौँ। त्यसलाई पुरा गर्ने वितिकै चलचित्र जाँचपास भएको प्रमाण पत्र दिनेछौँ’, प्रवक्ता सुवेदीले भन्नुभयो।
समितिले राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएको विषयमा चलचित्रमा मर्यादित ढंगले प्रस्तुत गर्न समेत आग्रह गरेको छ। चलचित्रका निर्माता, कलाकार तथा निर्देशक खड्काले चलचित्रमा यथार्थ देखाईएको बताउनुभयो। ‘चलचित्रमा उठान गरिएको विषय यथार्थसँग नजिक छ। देखाउन खोजिएको कथालाई नै असर गर्ने गरी सम्पादन गर्न मिल्दैन। मैले त्यसलाई पास गर्न आग्रह गरेको छु’, निर्देशक खड्काले भन्नुभयो,’म अघिल्ला चलचित्र झैँ लडाई लड्न तयार छु।’
शिवम् अधिकारी र नवल खड्काको संयुक्त लेखन रहेको यो चलचित्रले नेपाल र भारतबीचको सीमा क्षेत्रमा काँडेतार लगाएर आवागमनलाई व्यवस्थित गराउनुपर्ने, भारतीय मिचाहा प्रवृत्तिको प्रतिरोध गर्नुपर्ने विषय उठाएको छ । निर्देशक खड्काकै यसअघिका चलचित्रहरू भीमदत्त, दशगजा र आवाज लगायतले समेत जाँचपासको समयमा यस्तै परिस्थितिको सामना गरेको थियो।










