यसकारण बन्यो ‘प्रसाद २’

फिल्म। सफल फिल्म ‘प्रसाद’ को सिक्वेल वैशाख १५ मा प्रदर्शन हुँदैछ। विविध विवाद र अप्ठ्यारोलाई पार गर्दै फिल्म प्रदर्शन हुँदैछ। सार्वजनिक गीतसङ्गीत र ट्रेलरको कारण दर्शकमाँझ प्रतिक्षित बनेको फिल्मको सिक्वेलमा कलाकार फेरिएका छन्। अघिल्लो भागको विपिन कार्की बाहेक केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी नयाँ अनुहार हुन्।

कलाकार फेरिए पनि पात्र र परिवेश उही रहेको लेखक सुशील पौडेलले बताए। ‘प्रसाद २’ कथा अघिल्लो चलचित्र सकिएकै स्थानबाट अगाडि बढेको छ। ‘पात्र र परिवेश उही हो । त्यसैले हामीले यसलाई शृङ्खलाबद्ध रूपमै अगाडि बढाएका छौँ’, लेखक पौडेलले भने। त्यसो त ‘प्रसाद’ का निर्देशक दिनेश राउतले कथा अगाडि बढ्ने परिस्थिति नरहेको भन्दै निर्देशन नगर्ने घोषणा गरेका थिए । त्यही कारण दोस्रो शृङ्खलालाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।

‘पहिलो शृङ्खलामा प्रेम गरेवापत जातीय विभेदकै कारण मुख्य पात्र बाबुराम र नारायणीले गाउँ छोडेर सहर बसाइँ सर्न बाध्य भए । तर सहरमा घटेको घटनाले उनीहरूलाई भाग्नु समाधान होइन भन्ने ज्ञान दियो’, लेखक पौडेलले भने,’देशमा राजनीतिक परिवर्तन आइसकेपछि राज्यको भरोसामा उनीहरू गाउँमा गएर आफ्नो अस्तित्वलाई परिभाषित गर्न खोजे । उनीहरूको अन्तरजातीय र वर्गीय सङ्घर्ष तथा बाँकी जीवनलाई देखाउन हामीले दोस्रो शृङ्खला तयार गरेका हौँ ।’

लेखक पौडेलले ‘प्रसाद’ को विचारधारालाई लिएर पनि विविध प्रश्नको समान गर्नुपर्यो। त्यसबेला आफ्नो प्रतिक्रिया नदिएका लेखक पौडेलले बुझाईमा फरक परेको हुन् सक्ने बताए। ‘मन्दिरमा चढाइएको फलफूल कसरी त्यहाँसम्म आइपुग्यो भन्ने सोचिँदैन, तर मन्दिरबाट दिइने त्यही फल भक्तजनका लागि प्रसाद हुन्छ । बाबुरामले पनि नारायणीको कोखलाई मन्दिर मानेका छन्’, उनले भने । फिल्ममा सुदर्शन बस्नेत निर्माता रहेकाछन् भने सुभाष थापा प्रस्तुतकर्ता हुन्। यसलाई गोपालकाजी कायस्थले वितरण गर्दैछन्।

कमेन्ट गर्नुहोस्