फिल्म। केही समय अगाडी तेलुगु फिल्म उद्योगमा फिल्म निर्माणको लागत बढेपछि निर्माताहरूले छायांकन नै रोकेर समधान निकालेका थिएँ। स्टार भनिने कलाकारले दैनिक रूपमा पारिश्रमिक नपाउने देखि अधिकतम पाउनेसम्म केही समयलाई निर्धारण गरियो। अहिले नेपाली फिल्मको अवस्था यस्तै छ। फिल्म निर्माणमा कलाकारले पाउने पारिश्रमिक निकै बढेको छ। प्राविधिक पन महँगो भएको निर्माताको भनाइ छ। यद्दपी हलमा हुने व्यापार बढ्न सकेको छैन। त्यसो त बजार पनि विस्तार भएको छैन।
नेपालमा फिल्म निर्माण गर्न कत्तिको समस्या छ त ? यस जिज्ञाषामा निर्देशकसँगै निर्मातासमेत रहेका ज्ञानेन्द्र देउजाले पछिल्लो समय अस्वाभाविक रूपमा खर्च बढेको स्वीकारे। यसैवर्ष झिङ्गेदाउ निर्माण तथा निर्देशन गरेका देउजाले कलाकारले निर्मातालाई बुझ्ने समय आएको बताए। ‘पारिश्रमिक लिने र दिनेमा भर पर्छ। दिनेले दिएका छन् र लिनेले लिएका छन्। यद्दपि दुवै पक्षले बजारलाई ध्यानमा राखेर लेनदेन गरे राम्रो हुन्छ। निर्मातालाई आर्थिकभार बढाएर स्टारले पारिश्रमिक लिनु हुदैन’, निर्देशक देउजाले भने,’फिल्मको लागतले हामी जस्ता पुराना फिल्मकर्मीलाई समेत निर्माणमा जाने बेलामा सोच्न बाध्य बनाउँछ। रहरियाले त एकपटक हो काम गर्ने। पुराना निर्माताले फिल्म बनाउन नसक्नु वा स्टारलाई लिन नसक्नुको कारण नै पारिश्रमिक हो।’
उनले पुरानो समयलाई स्मरण गर्दै अभिनेता राजेश हमालको उदाहरण दिए। ‘अभिनेता हमालले लिने पारिश्रमिकको तुलनामा पाँच गुणाभन्दा बढी व्यापार हुने गर्थ्यो। तर अहिले फिल्म चलेन भने व्यापार शुन्य झैँ हुन्छ। त्यसैले स्टार कलाकार पनि बजार अनुसार चल्नुपर्छ’, निर्देशक देउजाले भने। निर्मात्रीसँगै अभिनेत्रीसमेत रहेकी पूजा शर्माले पारिश्रमिकको विषयमा दिएको अभिव्यक्तिलाई अन्य कलाकारले सिक्नु पर्ने निर्देशक देउजाले भने। ‘पूजाले भनेको तथ्यलाई सबैले मनन् गर्नुपर्छ। यो समय आफूलाई निर्माता सामू भन्दा पनि बजारबाट प्रमाणित गर्ने हो’, उनले भने । अभिनेत्री शर्माले निर्मातालाई असर नगर्ने पारिश्रमिक लिने बताएकी थिइन्।











