‘वुमन मेक फिल्म फेस्ट’ सम्पन्न

फिल्म। किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गर्ल्स गेट इक्वल अभियानसँग मिलेर आयोजना गरेको एक दिने महिला केन्द्रीत फिल्म फेस्टिभल ‘वुमन मेक फिल्म फेस्ट’ सम्पन्न भएको छ। अस्कर इन्टरनेसनल कलेजमा आयोजित महोत्सवमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका पन्ध्र फिल्म देखाइएको थियो ।

निर्माण तथा निर्देशनमा महिलाको सहभागितालाई बढावा दिने उद्देश्यले यसमहोत्सव अगाडी नै प्लान इन्टरनेसनलसँगको सहकार्यमा दुई चरणमा सम्पन्न कार्यशालाको प्रभावसँगै अन्य संस्थाको सहकार्यमा प्रदर्शन भएका फिल्म निर्माण भएका थिए। महोत्सवमा पहिलो चरणमा कल्पना बम र प्रतिभा पन्त निर्देशित ‘दि जर्नी अफ इनोसेन्स’, मिरा खड्का र अस्मिता लावती निर्देशित ‘वन रुपी’,श्रीषा कुवँर र एन्जिला चौधरी निर्देशित ‘मेरो बुवा’, डिम्पल राजथला र भावना अधिकारी निर्देशित ‘खुल्ला आकाश’, पुष्पा जोशी र सपना बेलबासे निर्देशित ‘भेइल्ड’ प्रदर्शन गरिएको थियो ।

यस्तै, दोस्रो चरणमा पिङ्की श्रीष राना र एलएसएम निर्देशित ‘हजुर’, शुभांगी खड्का निर्देशित ‘मदरर्स स्कुल’, शर्मिला आले निर्देशित ‘साउन्ड अफ ब्यांगल’, मुना बिके र सरला सुनुवार निर्देशित ‘आन्टीको गाउँ’ प्रदर्शन गरिएको थियो । यस्तै, अन्तिम तथा तेस्रो चरणमा अनु रावत र सम्झना चौधरीको निर्देशन रहेको ‘ह्युमन ट्राफिकिङ’, हेमा सुनार, गोविन्द राना र टीकाराम विकको निर्देशन रहेको ‘मेन्टल हेल्थ’, न्यान्सी शाह र पूजा परियारको निर्देशन रहेको ‘चाइल्ड म्यारिज’, सुरज गुरुङ र चेतना केसीको निर्देशन रहेको ‘एम आइ गुड इनफ’, अन्जली घर्ती मगरको ‘एउटा कथा’ र तृषा ढकालको ‘डियर डायरी’ प्रदर्शन गरियो।

महिलाले बनाएका फिल्म मात्र प्रदर्शन गरिनु आफैँमा पहिलो प्रयोग भएको र उत्साहजनक सहभागिताले हौसला दिएको किपालय प्रमुख आश्मा पोखरेलले बताइन। महोत्सवमा चलचित्र सम्बन्धी अध्यन हुने कलेजका विद्यार्थीसँगै २ सयभन्दा बढी दर्शकको सहभागिता रहेको थियो । चलचित्र विकास बोर्ड, ब्रिटिश काउन्सिल, चिल्ड्रेनल फिल्म सोसाइट, डक स्कुल, गौँथली इन्टरटेनमेन्ट र सिर्जना सूत्र लगायतको सहकार्यमा महोत्सव सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्