‘फेस्टिभलमा होइन्, हलसम्म फिल्म पुर्‍याउन सहयोग गर्नुस्’ : अभिनेता बानियाँ

फिल्म । नेपाली फिल्मको बजार विस्तारबारे बेलाबखतमा चर्चा हुने गर्छ । नेपाली दर्शक बढेसँगै विदेशमा नेपाली फिल्म एकै मितिमा प्रदर्शनमा आउने गरेका छन् । अष्ट्रेलिया, बेलायत, अमेरिकासँगै मिडल इस्ट अन्तर्गतका देशहरूमा पनि नेपाली फिल्मको बजार बढिरहेको छ । तर, यी बजारमा पुग्न सहज भने छैन । जाँचपाससँगै भाषिक समस्याको सामना फिल्मकर्मीले गरिरहेका छन् ।

फिल्म निर्माता तथा अभिनेता रवीन्द्र सिंह बानियाँले विदेशी बजारमा नेपाली फिल्मलाई सहजै पुर्‍याउन चलचित्र विकास बोर्डले भूमिका खेल्नु पर्ने बताए । ‘विदेशमा फेस्टिभल गरे जस्तो गरेर बजेट सक्ने भन्दा पनि त्यहाँसम्म पुग्न सहयोगी भूमिका खेल्नु पर्छ । नियती सहि बनाए नीतिमा ध्यान दिनुपर्छ’, अभिनेता बानियाँले भने । उनले आफ्नो निर्माण रहेको फिल्म ‘महापुरुष’ले बोर्डले दुबईमा आयोजना गर्न लागेको फिल्म फेस्टिभल सहभागी नहुने बताए ।

फेस्टिभलमाथि प्रश्न उठाउँदै जानकारीविना आफ्नो फिल्म समावेश गरेकोमा आपत्ती जनाउदै उनले फेस्टिभललाई आफूसहित टिमले बहिष्कार गरेको जानकारी दिए । ‘विवादित कम्पनि सुर्य कर्पोरेशनसँग आपसी लाभको लागि गरिएको कार्यक्रम बहिष्कार गरेका छौँ । हामीलाई नसोधी फिल्म राख्नु उहाँहरूको गल्ती हो’, उनले भने ।

फिल्म निर्माण कम्पनी षट्कोण आर्टले आफ्नो फेसबुकमा लेखेको छ,’चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्व सामु पुर्याउने नाराका साथ दुबईमा गर्न लागेको गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा हाम्रो फिल्म ‘महापुरुष’ हामीसँग अनुमति नलिई समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउने विकास बोर्डको चाहना स्वागत छ तर यी र यस्ता नेपालीहरु माझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला ? यता खर्च गर्ने ३० लाख पैसाले बरु त्यै मिडल इस्टमा व्यवसायिक प्रदर्शन हुने नेपाली फिल्महरुको सेन्सरमा ट्रान्सलेसनमा सहयोग गरे केही राहत होला । साथै विवादमा आएको कम्पनीसँग सहकार्य गर्न बोर्डलाई के कुराले बाध्य बनायो होला ? यी र यस्तै प्रश्न र सुझाव सहित हाम्रो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउनु हुन अनुरोध गर्दछौ ।’

१२ फेब्रुअरीदेखि सुरु हुने फिल्म फेस्टिभलमा ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’, ‘महापुरुष’ फिल्म देखाउने कार्यतालिका छ । यद्दपि ‘महापुरूष’ ले सहभागिता नजनाउने घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्