प्रदीपको रोजाई प्रेम कि प्रकाश ?

फिल्म । प्रदीप खड्का पछिल्लो समय चर्चामा छन् । उनलाई चर्चामा उनको हिट सिरिज ‘प्रेम गीत’ को तेस्रो शृंखलासँगै प्रकाशले ल्याएको छ । ‘प्रेम गीत ३’ नेपाल मात्र नभई हिन्दी भाषामा पनि रिलिज हुँदैछ ।भारतमा नेप – इन्डो फिल्म भनेर प्रचार गरिएको छ । त्यसैले प्रदीप चर्चामा छन् । यता नेपालमा उनको प्रकाश अवतारले चर्चा पाएको छ । फिल्ममा उनी जुम्लाको सामान्य युवकको भूमिकामा छन् ।

भारतमा नेपालको स्टारको रुपमा मिडियाले चिनाउदै गर्दा नेपालमा स्टारडमलाई हटाएर उनको कलाकारिताको चर्चा भइरहेको छ । प्रदीप दुवै कुराले खुसी छन् । उनी आउँदो दिनमा दुवैलाई सन्तुलित रुपमा अगाडी बढाउने बताउछन् । ‘अब छायांकन भएर आउने फिल्ममा दर्शकले प्रकाश र प्रेमको गुणलाई पाउनु हुनेछ । म भित्र आएको परिवर्तनलाई पर्दा मार्फत दर्शकसम्म पुर्याउने छु’ प्रदीपले भने । स्टारडम र कलाकारिताको सन्तुलनले आउँदो समय उज्वल हुने बुझाइ उनको छ ।

‘प्रकाश’ को प्रचारप्रसारमा भेटिएका प्रदीपले प्रेमको फ्यान प्रकाशमा आउने विश्वास पनि व्यक्त गरे । ‘मेरो स्टारडमले हलसम्म तानेको फ्यानले कलाकारिता पनि हेरेर फर्किनु हुनेछ । कलाकार भएपछि यसकिसिमको फिल्म पनि गर्नु पर्छ । फिल्मले सिस्टम प्रतिको विद्रोह र आत्मसम्मानको खोजीलाई समाजसँग जोडेको छ’ उनले भने । प्रदीप अब छायांकन हुने फिल्ममा आफ्नो सुध्रिएको अभिनयलाई महसुश गर्न पाउने बताउछन् ।

प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भिन्न छन् । दर्शक माँझ परिचित प्रदीप यसपटक आफ्नो क्यारेक्टर ‘प्रकाश’ मार्फत चिनिन चाहन्छन । निम्नवर्गीय परिवारमा जन्मिएका ‘प्रकाश’ को सपना शिक्षक बन्ने छ । किनकी उनलाई शिक्षक बन्दा समाजले इज्जत गर्छ भन्ने देखेका छन् । पर्दामा देखिने प्रकाश र रिल भन्दा बाहिरका प्रदीप फरक छन् । उनले यसपटक क्यारेक्टरलाई एडप्ट गर्न निकै मेहनत गरेका छन् । अफर भएका केहि फिल्म छाडेका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै कलाकार बन्ने प्रयाश गरेका छन् । यो सब उनलाई कथावस्तुले दिएको आकर्षण हो । प्रदीपले प्रकाश बन्न अभिनय सिके , अडिसन दिए , जुम्लाको भाषा सिके । एउटा स्टारले क्यारेक्टर एडप्ट गर्न गरेको यस्तो मेहनतले निर्देशकलाई विश्वस्त नबनाउने कुरै भएन । त्यसैले प्रदीपलाई ‘प्रकाश’ बनाउने तयारीमा टीम लाग्यो ।

फिल्ममा उनले जिउने मौका पाएको ‘प्रकाश’ निकै फरक छ । माओवादी द्वन्द्वमा आफ्नो पितालाई गुमाएपछि शिक्षित हुँदा हुँदै पनि शिक्षक बन्न संघर्ष गर्ने पात्र हो प्रकाश । सिस्टम विरुद्ध विद्रोहको प्रतिकको रुपमा देखाइएको प्रकाश जन आन्दोलनले दिएको उपलब्धिलाई महसुश गर्न सकेको छैन । सिस्टम फेरिने वा आम जनताका लागि सहज हुने आशमा रहेको शहिद परिवार मध्येको एक परिवारको जीवनलाई फिल्ममा देखाइएको छ । शिक्षक बन्दा सबैले ईज्जत गर्ने भएपछि उनले शिक्षक बन्ने अठोट गर्छन् । आफ्नो अभिभावक सिस्टम फेर्नका निमित गुमाएका प्रकाशले सिस्टम , समाज र आफैँसँग लड्ने लडाई नै फिल्मको कथासार हो । ‘हामीले चाहेको परिवर्तन आइसकेको छ त ? त्यसलाई आम जनताले महसुश गरेका छन् त ? यी यस्तै प्रश्न प्रकाश मार्फत देखाइएको छ’ प्रदीपले भने ।

भौगोलिक हिसाबमा कर्णाली स्थित जुम्लाको सेटअपमा कथा भनिएता पनि सिस्टम विरुद्ध गर्ने संघर्ष सबै तीर उस्तै रहेको बुझाइ उनको छ । ‘हामीले हिजो गरेको संघर्षले उपलब्धि नदिदा फेरी अर्को संघर्ष हुन् सक्छ । विद्रोहको विम्व पनि हो प्रकाश । किनकी उसले देशको नागरिकलाई संविधानले दिएको अधिकारलाई उपयोग गर्न पाएको छैन’ प्रदीपले भने । जुम्लामा झन्डै दुई महिना बिताएका प्रदीपले त्यहाँको जीवनलाई महसुश गरेका छन् । छायांकनकै समयमा उनी स्थानीयको घरमा समेत बसे । सँगै खान खाए । यसले उनलाई घुलमिल हुन् मदत गर्यो । ‘मैले स्थानीयसँग सामिप्यता गाँस्दा क्यारेक्टरलाई जीवन्त बनाउन मदत गर्यो । म प्रकाशमा प्रदीप खड्काको विम्व न देखियो भन्ने चाहन्थे’ उनले भने ।

स्टारडमको छायाँबाट निस्किएर कलाकार बनिरहेका प्रदीपले यसकिसिमको फिल्ममा लगानी गर्ने निर्माता महेन्द्र अधिकारीलाई धन्यवाद दिए । उनको चाहना हुँदा हुँदै पनि यस अगाडी यस किसिमको फिल्ममा जोडिन नपाएको उनले सुनाए । ‘मलाइ यस किसिमको फिल्म गर्न मन हुँदा पनि लगानी कर्ताको इच्छा भने देखिन् । त्यसैले गर्दा महेन्द्र दाई जस्तो निर्माता आउनु पर्छ । जसले हामीलाई पनि आट गर्न मदत गर्छ’ प्रदीपले भने ।

मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्म बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्