हेलम्बुमा बाढी पीडितलाई घर

देश । हिमालयन फाउन्डेसन कर्प, न्युयोर्क एण्ड क्यालिफोर्नियाले सिन्धुपाल्चोक, हेलम्बु गाउँ पालिकाका बाढी–पहिरो पीडित परिवारलाई अस्थायी आवास उपलब्ध गराएको छ । फाउन्डेसनले आइतबार हेलम्बुको पाल्चोकमा एक कार्यक्रमका बीच पहिलो घर हस्तान्तरण गरेको हो । अमेरिकाको मेरिल्याण्ड राज्यका पहिलो नेपालीमुल विधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा डा.भण्डारीसहित फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठ, शस्त्र प्रहरीका पूर्व आइजीपी शैलेन्द्रकुमार श्रेष्ठ, पूर्व डिआइजी केबि ब्रम्हचार्य, वरिष्ठ फिल्म निर्देशक नारायण पुरी, वरिष्ठ संचारकर्मी भुषण दाहाल, प्रोफेसर प्रकाश खड्गी, लायन्स क्लबका पूर्व अध्यक्ष दिकेन्द्र मास्कले लगायतले संयुक्त रुपमा बाढीपीडित रामबहादुर भारतीलाई नवनिर्मित घरको चावी सुम्पिए ।

गत असार र साउनमा आएको भीषण बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा जनधनको ठूलो क्षति पुर्याएको थियो । बगरमा परिणत उक्त स्थानका पीडितलाई सहयोग गर्ने उद्धेश्यले आफ्नो सामाजिक संस्था हिमालयन फाउन्डेसन मार्फत संस्थापक यज्ञलाल अघि सरेका थिए । उनले गत कार्तिक २४ गते हेलम्बु गाउँपालिकासँग बाढी पीडितका लागि आफ्नो फाउन्डेसनमार्फत १० वटा घर निर्माण गरिदिने सम्झौता गरेका थिए । सोही बमोजीम घरहरु बन्दै गरेको र हाल नेपाल आएको अवसरमा बस्नका लागि तयार भएको एउटा घर हस्तान्तरण गरिएको उनले बताए ।

‘आफू जन्मे, हुर्किएको ठाउँमा विपत्ति परेको मैले हेरेर बस्न सकिनँ,’ यज्ञलालले भने, ‘आफ्नो तर्फबाट जति सकिन्छ, सहयोग गरौं भनेर पीडितका लागि घर निर्माण थालेका हौं । बाँकी घरहरु छिट्टै पूरा हुनेछन् । भविष्यमा पनि हाम्रो सहयोग जारी रहनेछ ।’ सन् २००६ मा स्थापना भएको हिमालय फाउन्डेसन कर्पमार्फत यज्ञलालले थुप्रै समाजीक कार्य गरेका छन् । उनले क्यालिफोर्नीयामा नेपाली कम्युनीटी सेन्टर निर्माणका लागि नेपालबाट अन्जु पन्त, राजु लामा जस्ता चर्चित कलाकारलाई लगेर कन्सर्ट गर्नुका साथै पोखरामा बालबालिकाका लागि कराँते भवन निर्माण तथा आफू पढेको सिन्धुपाल्चोकको स्कुललाई कम्प्युटर, लाइब्रेरी तथा सिसिटिभीको व्यवस्था गर्नेजस्ता थुप्रै काम गरेका छन् । राष्ट्रिय म्याराथुन धावक यज्ञलाल सन् २००२ देखि अमेरिका ब्यापार–ब्यबसायका साथै समाजिक कार्य गर्दै आइरहेका छन् ।

अमेरिकामा बसे पनि आफ्नो गाउँठाउँलाई सम्झिएर सहयोग गरेकोमा कार्यक्रममा प्रमुख अतिथि डा. भण्डारीले यज्ञलालको तारिफ गरे । उनले भने, ‘हामी नेपालीहरु जहाँ रहे पनि एकअर्काको पीडामा मल्हम बन्ने मनका छौ भन्ने उदाहरण उहाँले पेश गर्नु भएको छ । उहाँको यो सह्रानिय कार्यमा हामी सबैले साथ दिनुपर्छ ।’

घर हस्तान्तरण कार्यक्रममा काठमाडौंबाट वरिष्ट चलचित्र पत्रकार लक्ष्मण सुवेदी,‘लाइफ इन एल’ फिल्मका निर्देशक सूर्य श्रेष्ठ, हिमालयन फाउन्डेसन नेपालका अध्यक्ष फत्तबहादुर गुरुङ, सदस्य सोम लामा, पूर्वप्रधानमन्त्री केपी ओलीकी स्वकिय सचिव मिना श्रेष्ठ, राष्ट्रिय खेलकुद समितिका पूर्व सदस्य नम्बरी शेर्पा, समाजसेवीहरू पूर्ण शेर्पा, पद्म श्रेष्ठ, देवेन्द्रमान श्रेष्ठलगायत थुप्रै संचारकर्मी हेलम्बु पुगेका थिए । कार्यक्रममा हेलम्बु ३ का कार्यबहाक वडा अध्यक्ष दमइ सिंह तामाङ, मेलम्ची नगरपालिका ७ का वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलगायतले यज्ञलालको टिमले घरबारविहीन बाढी पीडितको पुनस्र्थापनाका लागि गरिरहेको पुन्य कर्मको चर्चा गरे ।

कमेन्ट गर्नुहोस्