नेपाली फिल्मको ‘रिलिज क्यालेन्डर’

फिल्म । वर्ष २०७९ साल नेपाली फिल्मले संघर्ष गर्नु पर्ने वर्षको रुपमा आएको छ । वर्षकै पहिलो दिन ‘ए मेरो हजुर ४’ ले विदेशी फिल्महरुसँग कडा भिडन्त गर्यो । यद्दपी नेपाली फिल्मले कार्तिकसम्म आफ्नो रिलिज घोषणा गरिसकेका छन् । तर , पछिल्लो समय विदेशी फिल्मको बढ्दो दबदबाले रिलिज क्यालेन्डरमा असर नगर्ला भन्न सकिन्न । किनकी हलिउड र बलिउडसँगै साउथ इन्डियन फिल्महरुले पनि अब नेपाली फिल्मको क्यालेन्डर हेरफेर गर्न सक्ने भएका छन् । निर्माण सकिएर बसेका फिल्महरुको प्रदर्शन मिति विदेशी फिल्महरुलाई पन्छाएर पनि घोषणा भएका छन् । केहिले भिड्ने आत्मविश्वासका साथ् पनि घोषणा गरेका छन् । नेपाली फिल्मका निर्माता‚ निर्देशकले वितरकसँग सेट गरेको नेपाली फिल्मको रिलिज क्यालेन्डर यस्तो छ ।

कबड्डी ४ : द फाइनल म्याच

प्रतिक्षित फिल्म मध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ जेठ १३ गरे रिलिज घोषणा गरेको छ । निर्देशक रामबाबु गुरुङले हिट फ्रेन्चाईज ‘कबड्डी’ को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ भनेका छन् । यस शृंखलामा कथा सकाइने बताइएकोले गर्दा पनि फिल्म झनै प्रतिक्षित बनिरहेको छ । बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको छ । फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।

चिसो मान्छे

फिल्म ‘चिसो मान्छे’ असार ३ मा प्रदर्शन हुने भएको छ । स्टारभन्दा पनि कथा र त्यसको पात्रलाई ध्यान दिने निर्देशक दीपेन्द्र के खनाल निर्देशित फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का र देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा निर्देशनसँगै छायाँकार र लेखकको डिपार्ट पनि दीपेन्द्रले नै सम्हालेका छन् ।

फिल्मले लास लिएर यात्रामा निस्कने तीन चरित्रको कथा प्रस्तुत गर्छ । ‘बुलबुल’ पछि स्वस्तिमाको यो फिल्मलाई लिएर दर्शक निकै आशावादी छन् । कर्णाली क्षेत्रको कथा भन्ने यो फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन् । फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । यस फिल्ममा स्वस्तिमा र दीपेन्द्रको दोस्रो पटक सहकार्य भएको हो । यसअघि यी दुईको टीमअप ‘लभ लभ लभ’मा भएको थियो । फिल्मलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनिले मोफसलमा वितरण गर्नेछ ।

कृष्ण लीला

प्रेम कथामा आधारित फिल्म ‘कृष्ण लीला’ भाद्र ३ गते प्रदर्शनमा आउने भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण लीला’ लाई कृष्ण अष्टमीकै दिन रिलिज गर्न लागिएको हो । दीपक ओलीको निर्देशनमा तयार भएको फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतको अभिनय छ । लभस्टोरी जनरामा निर्मित फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्मातामा छन् । फिल्ममा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा रंग पत्रकार तथा लक्ष्मण सुवेदीको लेख्न रहेको छ । उनले फिल्ममा प्रेम कथासँगै सस्पेन्स मार्फत पनि दर्शकले मनोरञ्जन पाउने बताए ।

प्रेमगञ्ज

पोस्टर मार्फत घोषणा गरिने डेटलाई ‘प्रेमगञ्ज’ युनिटले भिडियो मार्फत भाद्र ३ गते प्रदर्शनमा आउने घोषणा गरेको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ ।

पानीफोटो

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ भाद्र १० गते प्रदर्शन हुँदैछ। टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद , धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफुलाई ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका छन् । उनी फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा होमिएका हुन् । फिल्म भाद्र १० अर्थात सन् २०२२ अगस्ट २६ मा प्रदर्शनमा आउने घोषणा भएको छ ।

स्वयम् खगेन्द्रले आफु लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई दर्शक माँझ लिएर आउन लागेका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । फिल्ममा खगेन्द्रसंगै अनुप बराल , मेनुका प्रधान , प्रकाश घिमिरे , माओत्से गुरुङ , बुद्धि तामाङ्ग , कमलमणि नेपाल, अशान्त शर्मा , मलिका महत , प्रकाश घिमिरे, राधा श्रेष्ठ ,अजस्र ढुङ्गाना, कमल देवकोटा , अनोज पाण्डे , अनिल पाण्डे , नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको छायांकन काठमाडौँसँगै बर्दिया, रोल्पा र स्याङ्गजामा गरिएको छ । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीटको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाश

अभिनेता प्रदीप खड्का फरक रुपमा प्रस्तुत फिल्म ‘प्रकाश’को प्रदर्शन मिती भदौ १० गतेलाई घोषणा गरिएको छ । चकलेटी ब्वाईको रुपमा प्रस्तुत हुदैँ आइरहेका प्रदीप यसमा गाउँले भूमिकामा छन् । प्रदीप यसप्रकारको गेटअपमा पहिलो पटक देखिएका हुन् । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीपसँगै दीय मास्के , रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ । विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

द सिक्रेट अफ राधा

सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन भाद्र २४ गते हुने जानकारी निर्माण पक्षले गराएका छन् । कोरोना भाइरस महामारीका कारण भएको दोस्रो लकडाउनको समयमा पालुङ आसपासमा छायांकन भएको फिल्मले आफ्नो प्रदर्शन मिती तय गरेको हो ।

फिल्ममा सौगात मल्ल , सृष्टी श्रेष्ठ , खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । साथै , यसमा दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा छन् । फिल्ममा निर्देशक थापासँगै अभिनेता सौगात मल्लको समेत लगानी रहेको छ । आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा संयुक्तरुपमा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत रहेकोछ ।

झिँगेदाउ

पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशन तयार भएको फिल्म ‘झिँगेदाउ’ भाद्र ३१ मा रिलिज हुने भएको छ । फिल्ममा मुकुन भुषाल , आँचल शर्मा , केकी अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । डेढ दशक अगाडी व्यवसायिक सफल फिल्म निर्देशकको रुपमा चिनिने ज्ञानेन्द्र केहि समय यता भने निर्देशनबाट टाढीएका थिए । तर, अब उनले यसै फिल्म मार्फत निर्देशक र निर्माणमा कमब्याक गरेका छन् । महिला विषयवस्तुमा केन्द्रीत फिल्म साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित रहेर निर्माण भएको हो ।

‘झिँगेदाउ’ कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्देशक स्वयंले निर्माण गर्दैछन् । सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंको दृश्यमा फिल्मलाई विष्णु कल्पितले खिचेका हुन् । फिल्ममा प्रदीप भारद्वाजको लेखन , अर्जुन पोखरेलको संगीत , मित्र डी गुरुङको सम्पादन रहेको छ । ‘मुना मदन’, ‘वुद्ध वर्न इन नेपाल’, ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्रले यसपटक केहि फरक विषयवस्तु रोजेका छन् ।

बाबरी

भाद्र ३१ गतेलाई ‘बाबरी’ रिलिज हुने घोषणा गरिएको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ मा धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भुमिका रहेको छ । फिल्ममा अदितिले विजेता, धिरज मगरले विक्रान्त र धिरज नाडकरले रोनिशको भूमिका निर्वाह गरेका छन् ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ । फिल्मको कथा स्वयम् निर्देशक पौडेलले नै लेखेका हुन् । पुष्पा अधिकारी निर्माता रहेको फिल्ममा सह–निर्मातामा सुष्मा गुरुङ छन् । नरेन्द्र मैनाली सिनेम्याटोग्राफर रहेको फिल्मलाई काठमाडौँसँगै झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । यसमा मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।

लाखे

फिल्म ‘लाखे’ भदौ ३१ गते रिलिज हुने भएको छ । कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेको फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा , आर्यन अधिकारी, सुशील सिटौला, बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकार, संजोक राणा र कालु राना लगायतको अभिनय रहेको छ ।

सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

२ नम्बरी

फिल्म ‘दुई नम्बरी’टिमले अभिनेत्रीमा उपासना सिंह ठकुरीलाई अनुबन्धित गर्दै रिलिज डेट समेत घोषणा गरेको छ । फिल्म युनिटले दयाहाङ राई , उगेन छोदेन, सौगात मल्ल , उपासना सिंह ठकुरी लगायतको लाइन–अप सेट गरेपछि फिल्म कार्तिक ४ मा रिलिज हुने घोषणा गरेको हो । दुईजना साथीको मित्रताको कथामा बन्न लागेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे र अमला देवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन् ।

परस्त्री

नेपाली फिल्म ‘लभ लभ लभ’ बाट नायकको रुपमा उदाएका सुरज पाण्डे निर्देशक बनेका छन् । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने फिल्म कार्तिक ६ गते रिलिज गरिने पनि बताइएको छ । डिएस डिजिटलको व्यानरमा निर्माण भइरहेको फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । यस फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहनेछ । यसमा निरज पाण्डेको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्