फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म’चिसो एष्ट्रे’ लाई च्यारिटी शोमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्वारा आयोजित सोमबार बेलुकीको विशेष प्रदर्शनमा फिल्मका कलाकार र शैक्षिक परामर्श व्यवसायी सहभागी थिए । च्यारिटीका निमित आयोजित ‘चिसो एस्ट्रे’को विशेष प्रदर्शनबाट संकलित रकम कोरोना महामारी प्रभावित व्यक्ति र परिवारलाई प्रदान गरिने फिल्म युनिटले जनाएका छन् ।
फिल्मका कलाकारहरु सृष्टि श्रेष्ठ, दिव्यदेव, निकुन श्रेष्ठ, नवीन लम्साललगायत कार्यक्रममा उपस्थित थिए । उपस्थित सम्पूर्ण कलाकारहरु प्राप्त प्रतिक्रियाले उत्साहित थिए । निर्देशक दिन्स पाल्पालीको निर्देशनमा तयार फिल्ममा दिव्यसँगै सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । फिल्म निर्माता महेशबाबु तिमल्सिना रहेको फिल्ममा दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यसमा सह निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्। निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।













